नेप्सेमा कारोबार रकम अझै घटयो
माघ ५, काठमाडौ (अस)। साताको चौथो दिन बुधवार नेप्से सामान्य बढे पनि रकम परिचालन घटेको छ । नेप्से शून्य दशमलव ८७ अङ्कले बढेर ४ सय ४ दशमलव ३३ पुग्यो । पछिल्ला दिनहरूमा औसत साढे २ करोड रकम परिचालन हुँदै आएकोमा बुधवार रू. १ करोड ३४ लाखभन्दा केही बढी मात्र भएको छ । बुधवार करीब २ : १५ सम्म मङ्गलवारको अन्तिम बिन्दुभन्दा तल रहेको नेप्से त्यसपछि केही बढेपछि बजार बन्द हुँदा वृद्धि कायम रहयो । कारोबार शुरू भएदेखि घटबढ भइरहेको स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयर मूल्य सोही समयमा रू. ३० ले बढेपछि नेप्सेले टेवा पाएको हो । कारोबार अन्त्य हुँदा भने स्टयार्ण्र्डड चार्र्टर्डको शेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यभन्दा रू. १५ ले मात्र बढयो । बुधवार बैङ्किङसँगै वित्त र बीमा कम्पनीको परिसूचक बढेपछि नेप्से बढ्न थप सहयोग मिल्यो । यी समूहको परिसूचक क्रमशः २ दशमलव शून्य ५, शून्य दशमलव ८६ र शून्य दशमलव ४५ ले बढयो । बुधवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढयो ।
बुधवार कारोबारमा आएका ५ समूहमध्ये विकास बैङ्क र जलविद्युत् समूहको परिसूचक क्रमशः शून्य दशमलव १६ र १ दशमलव ७३ अङ्कले घटयो । त्यसैगरी, विकास बैङ्क समूहमा सूचीकृत गोरखा डेभलपमेण्ट बैङ्कको कारोबार बजार शुरू भएको केही समयमै बन्द भयो । बुधवार गोरखा डेभलपमेण्ट बैङ्कमा रकम घोटाला भएका समाचारहरू सम्पे्रषण भएपछि केही समय भएको कारोबारमै बैङ्कको शेयर मूल्य ५ प्रतिशतले घटेको थियो । नेप्सेले यस सम्बन्धमा अनुसन्धान प्रयोजनको लागि भनेर बैङ्कको कारोबार रोक्का गरेको छ ।
बुधवार रकम परिचालनसँगै कम्पनी, कारोबार र शेयर सङ्ख्यामा कमी आए पनि कुल बजार पूँजीकरण भने बढेको छ । बुधबार ७२ कम्पनीको १ हजार ४ सय २८ कारोबारबाट ५९ हजार ४९ कित्ता शेयरको खरीदविक्री भएको छ । यसबाट ३ खर्ब ५३ अर्ब कुल बजार पूँजीकरण भएको छ । बुधवार कारोबारमा आएका मध्ये २९ कम्पनीको शेयर मूल्य बढयो, ३३ कम्पनीको शेयर मूल्य घटयो भने १० कम्पनीको स्थिर रहयो ।
बुधवार शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क र कारोबार सङ्ख्याका आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहे । मनकामना डेभलपमेण्ट बैङ्कको ६ हजार ३ सय ३० र गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको २ सय २७ कारोबार भयो । रकम परिचालनको आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. ११ लाख २९ हजार रकमको कारोबार भयो । बुधवार शिखर इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै रू. २३ ले बढयो भने बुटवल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. ८२ ले घटयो । त्यसैगरी, धेरै पछि कारोबारमा आएको एनसीएम म्युचुअल फण्डको ५ सय कित्ता रू. १ ले बढेर कारोबार भएको छ ।