'एनआरएनको लगानीले पूँजी बजार बढ्दैन’
मङ्सिर ५, काठमाडौं (अस) । आर्थिक वर्ष२०६७/६८ को बजेटले गैरआवासीय नेपालीले पनि पूँजीबजारमा लगानी गर्न दिने व्यवस्था गरेको छ । बजेटमा सूचीकृत कम्पनीहरुको वास्तविक वित्तीय अवस्थाको पहिचान गर्न र कर्जा प्रवाहलाई पारदर्शी बनाउन क्रेडिट रेटिङ एजेन्सीको स्थापनासम्बन्धी नीति बनाउने कुरा पनि उल्लेख गरिएको छ । गैरआवासीय नेपालीका लागि लगानी खुल्ला भएपछि पूँजीबजारमा थप लगानी भित्रिने हुनाले बजार बिस्तारित तथा विकसित हुन सहयोग पुग्ने नेपाल धितोपत्र दलाल सङ्घका अध्यक्ष नन्दकिशोर मुन्दडा बताउँछन् । 'क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्ने र गैरआवासीय नेपालीलाई लगानी अनुमति दिने नीति स्वागतयोग्य छ,’ मुन्दडाले भने, 'यसको सफल कार्यान्वयन हुन सकेमा पूँजी बजारमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।'
गैरआवासीय नेपालीहरुले पुँजीबजारमा लगानी गर्नका लागि आवश्यक नागरिकतासम्बन्धी बिषय हालसम्म पनि टुङ्गो नलागेकाले अहिले नै लगानी बढी हाल्छ भन्न नसकिने धारणा शेयर बिश्लेषक रवीन्द्र भट्टराइको छ । 'अहिले नै उनीहरुबाट लगानी भित्रिने सम्भावना देखिँदैन,' उनले भने, 'गैरआवासीय नेपालीलाई लगानी खुल्ला गर्ने भनेर मात्रै पुग्दैन, यसको प्रक्रिया र उनीहरुको पाउने प्रतिफल सुरक्षित हुने खालको वातावरण पनि बन्नु पर्छ ।' गत वर्षकै बजेटमार्फत आउने भनिएको 'कमोडिटिज' कारोवारको नियमावली अहिलेसम्म बन्न नसकेको अवस्थामा बजेटमा उल्लेख हुँदैमा सबै कुरा कार्यान्वयन भइहाल्न नसक्ने भट्टराईको धारणा छ । 'त्यसको कार्यान्वयन पक्षलाई ख्याल गर्नु पर्छ' भट्टराईले भने, 'यस्ता कुराहरु त विगतका बजेटमा पनि समाबेश हुने गरेका थिए, तर अहिलेसम्म धेरै कममात्रै कार्यान्वयन भएका छन ।'
बजेटले कम्पनीहरु गाभ्ने र गाभिने (मर्जर) प्रक्रियाको चर्चा गरे पनि नीजि क्षेत्रबाट स्टक एक्सचेञ्ज खोल्ने कुरा, म्युचुअल फण्डका सञ्चालकलाई प्रोत्साहन गर्ने कुरामा भने यो मौन रहेको छ । बजेटमा यी बिषयको सम्बोधन हुने आशा लगानीकर्ताहरुले गरेका थिए, तर त्यसो नभएपछि उनीहरु निराश भएको भट्टराईको बुझाई छ ।
नेप्सेमा बजेटको उल्टो प्रभाव
मङ्सिर ५, काठमाडौँ । वार्षिक बजेट प्रकाशित भएको भोलिपल्ट शेयरबजार परिसूचक नेप्से उल्टो गतिमा अघि बढ्यो । गतसातासम्म सकारात्मक दिशामा हिंडिरहेको शेयरबजार राजनीतिक अन्यौलसँगै आएको बजेटपछि प्रभावित बनेको देखिन्छ । आइतवार ४ सय २५दशमलव ४२ बाट शुरु भएको नेप्से २ अङ्कले घटेर ४ सय २३ दशमलव ३५ मा सीमित भयो । आइतवार कारोबार भएकामध्ये बीमा समूह, अन्य समूह र विकास बैङ्क समूहका परिसूचक बढे पनि तुलनात्मक रुपमा बढी भार भएका बैङ्किङ, जलविद्युत् र वित्त कम्पनी समूहका परिसूचक घटेकाले नेप्सेले टेवा पाउन सकेन ।
बिहीवारको तुलनामा कारोबार भएका कम्पनी, कारोबार सङ्ख्या र शेयर सङ्ख्या बढे पनि कारोबार रकम भने घट्यो । शेयर खरीद-विक्री बढे पनि मूल्य घटेकाले कारोबार रकममा कमी आएको हो । आइतवार कुल १ हजार ५ सय २८ कारोबारबाट ८३ कम्पनीका १ लाख ११ हजार ८ सय ७५ कित्ता शेयर खरीद-विक्री भए । यसबाट रु. २ करोड ७१ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. ३ खर्ब ६० अर्बभन्दा धेरै कुल बजार पूजीकरण भयो । आइतवार कारोबार भएका ८३ कम्पनीमध्ये ३४ कम्पनीको शेयर मूल्य घट्यो, ३० कम्पनीको बढ्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
आइतवार कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा कृषि विकास बैङ्क सबैभन्दा अघि रह्यो । कुल २ सय ५ कारोबारबाट यस बैङ्कका १४ हजार ५ सय ३८ कित्ता शेयर खरीद-विक्री भए । कारोबार रकमका आधारमा भने रु. २९ लाख, २३ हजार ६५ बराबरको कारोबारसहित स्ट्यार्ण्र्डड चार्टर्ड बैङ्क सबैभन्दा अघि रह्यो । स्ट्यार्ण्र्डड च्यार्र्टर्ड बैङ्कको शेयर मूल्यमा सबैभन्दा धेरै रू ४९ घट्यो भने लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको शेयर मूल्य सबैभन्दा धेरै रू २४ बढ्यो ।