शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से साढे ३ अङ्क तल
साउन ५, काठमाडौं (अस)। बिहीवार सार्वजनिक भएको मौद्रिक नीतिमा शेयर बजारलाई लक्षित गरेर ठोस कार्यक्रम नआएपछि बजार बढ्न सकेन । 'लगानीकर्ताहरूले बजेटमा जस्तै ठोस कार्यक्रमहरू आउने अपेक्षा गरेका हुन सक्छन्,’ नेपाल ब्रोकर सङ्घका अध्यक्ष अञ्जनराज पौडेलले भने, 'तर केही अघि भएका नीतिगत परिवर्तनहरूमै मौद्रिक नीति सीमित भएपछि लगानीकर्ताहरू निराश भएका हुन् ।’ बिहीवार घटे पनि आगामी दिनमा बजार बढ्ने पौडेल बताउँछन् । नेप्से ३ दशमलव ६५ अङ्कले घटेर ३ सय ७६ दशमलव ५८ मा आइपुगेको छ । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।

मौद्रिक नीतिमा शेयर बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल तथा आर्थिक अवस्थामा नै प्रतिकूल असर पर्ने भएकाले बजारको दिगो विकासका लागि नेपाल राष्ट्र बैङ्क तयार रहने आश्वासन छ । त्यसैगरी, वित्तीय संस्थाहरूको संस्थापक शेयरधनीहरूको योग्यता मूल्याङ्कन प्रणालीमा सुधार गर्नेलगायतका कार्यक्रमहरू उल्लेख गरेको छ ।

बिहीवार सबै समूहका परिसूचक घटे पनि जलविद्युत् र 'अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै अङ्कले घटे । यी समूहको परिसूचक क्रमश: ४१ र १४ अङ्कले घटयो । जलविद्युत् समूहमा सूचीकृत बुटवलपावर र चिलिमेको शेयरमूल्य क्रमश: रू. ६८ र ३८ ले घटे । यसै समूहको नेशनल हाइड्रोपावर कम्पनीका ३ लाखभन्दा बढी कित्ता शेयर ब्रोकर नम्बर २५ मार्फत म्याचिङ भए । नेशनल पावर कम्पनीले विभिन्न कम्पनीहरूको नाममा रहेको शेयरहरू यसरी ठूलो परिमाणमा खरीद गरिरहेको बुझिएको छ । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. १२ ले घटेपछि 'अन्य’ समूहको परिसूचक घटयो । त्यसैगरी, विकास बैङ्क, बीमा, वित्त कम्पनी र बैङ्किङ समूहका परिसूचक क्रमश: १ दशमलव ८८, १ दशमलव ५७, शून्य दशमलव ६७ र शून्य दशमलव ४७ अङ्कले घटे ।  

बिहीवार कम्पनी, खरीद/विक्री सङ्ख्या घटे भने शेयर सङ्ख्या र रकम परिचालन बढयो ।  कुल ९ सय ९ कारोबारबाट ७२ कम्पनीका ४ लाख ९ हजार ५ सय २७ शेयर किनबेच भए । त्यसबाट रू. ५ करोड ३० लाख रकम परिचालन भयो भने ३ खर्ब ३५ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार ३० कम्पनीको शेयरमूल्य घटयो, ४५ कम्पनीको शेयरमूल्य बढयो भने २९ को स्थिर रह्यो ।

बिहीवार ६१ पटक शेयर किनबेच भएर बैङ्क अफ काठमाण्डू कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो । शेयर सङ्ख्या र रकम परिचालनका आधारमा अग्रस्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीका ३ लाख १ हजार २ सय ८२ शेयर किनबेच भई रू. १ करोड २९ लाखभन्दा बढीको कारोबार भयो । नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १४ ले बढयो भने बुटवल पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरैले घटयो ।

Admin 2011-07-22