नेप्से सामान्य घटयो, कारोबार रकम बढयो
अभियान संवाददाता
भदौ ६, काठमाडौं । मङ्गलवार दिनभर नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिए पनि अघिल्लो दिनको तुलनामा लभगभ स्थिर रह्यो । कारोबार अवधिमा सात पटकभन्दा बढी बढेको नेप्से अन्त्यतिर शून्य दशमलव शून्य १ अङ्कले घटेर बन्द भयो । नेप्से घटेर ३ सय ४९ दशमलव ६७ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि मङ्गलवार कारोबार रकममा सुधार भएको छ । आईएमई फाइनान्सका ३५ हजार कित्ता संस्थापक शेयर कारोबार भएपछि रकम परिचालन बढ्न सहयोग पुगेको छ । ब्रोकर नम्बर १७ र २९ बीच भएको फाइनान्सको शेयर किनबेचबाट शेयरमूल्य रू. १५ ले घटेर रू. ८२ लाख ४१ रकमको कारोबार भएको छ । अन्य केही कम्पनीको पनि विक्रीमा आएका शेयरहरूको परिमाण बढेका छन् । मङ्गलवार रू. ३ करोड ३ लाखभन्दा धेरै रकम परिचालन भएको छ । नेप्से जस्तै सेन्सेटिभ परिसूचक र फ्लोट परिसूचक पनि घटे ।
कारोबारमा आएका सात समूहमध्ये जलविद्युत्, 'अन्य’, होटल र विकास बैङ्क समूहको परिसूचक बढे । यी समूहको परिसूचक क्रमश: २ दशमलव २२, १ दशमलव १७, शून्य दशमलव ५६ र शून्य दशमलव १२ ले बढे । चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटे पनि बुटवल पावर र अरुणभ्यालीको शेयरमूल्य बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । त्यसैगरी, नेपाल टेलिकमको शेयरमूल्य रू. १ ले बढेपछि 'अन्य’ समूहको र ⋲यात होटलको शेयरमूल्य रू. १ ले बढेपछि होटल समूहको परिसूचक बढयो । अन्नपूर्ण, सीटीलगायत विकास बैङ्कको शेयरमूल्य बढे । बीमा, वित्त र बैङ्किङ समूहको परिसूचक भने घटे । यी समूहको परिसूचक २ दशमलव शून्य ३, १ दशमलव १५ र शून्य दशमलव ४९ ले घटे । आईएमई फाइनान्सको संस्थापक शेयर, श्री इन्भेष्टमेण्ट फाइनान्सलगायतको शेयरमूल्य घटेर कारोबार भएपछि वित्त समूहको परिसूचक घटेको हो । सूर्या लाइफ, प्राइम लाइफलगायत बीमा कम्पनीको शेयरमूल्य घटे । नेपाल एसबीआई, नबिल, एभरेष्टलगायत बैङ्कको शेयरमूल्य घटेकाले बैङ्किङ समूहको परिसूचक बढ्न सकेन ।
मङ्गलवार कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या, खरीद(विक्री सङ्ख्या, शेयर सङ्ख्या सबै बढे । ८८ कम्पनीका १ हजार ४ सय ४९ खरीद-विक्रीबाट १ लाख ३४ हजार २ सय २५ शेयर किनबेच भए, जसबाट रू. ३ खर्ब ११ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार ४१ कम्पनीको शेयरमूल्य घटयो, २९ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो । कारोबार रकम र शेयर सङ्ख्याको आधारमा संस्थापक शेयर करोबार भएको आईएमई फाइनान्स अग्रस्थानमा रह्यो । खरीद-विक्री सङ्ख्याका आधारमा २ सय २ पटक शेयर किनबेच भएको ज्योति विकास बैङ्क अग्रस्थानमा रह्यो । सो दिन प्रतिशतका आधारमा सबैभन्दा धेरै अपी फाइनान्सको शेयर मूल्य ९ दशमलव ६८ प्रतिशते घटयो भने हिमालयन फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४ दशमलव ५५ ले बढयो ।
Admin 2011-08-24