वास्तविक क्षेत्रले नेप्से घटायो
मङ्सिर ६, काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजारमा सुधार आउन सकेन । कारोबार भएका सबै समूहका परिसूचक घटे पनि वित्तीय क्षेत्रबाहेकका परिसूचक तुलनात्मक रूपमा बढी घटेपछि नेप्से २ सातायताकै उच्च अङ्कले घट्यो । सोमवार नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रको प्रतिनिधित्व गर्ने जलविद्युत्, होटल, 'अन्य' र ट्रेडिङ समूहका परिसूचक क्रमशः ९, ५, ३ र २ अङ्कले घटेपछि कारोबार बन्द हुनै लाग्दा नेप्से ३ दशमलव ५४ अङ्क ओरालो लागेर ४ सय १९ दशमलव ८१ मा आयो ।
यसरी नेप्से ओरालो लागेपछि 'क' वर्गका कम्पनीको मूल्य मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारणले खरीद गर्न सक्ने शेयरको मूल्य मापक प\mलोट परिसूचक पनि घटे ।
सोमवार १ हजार ६ सय ३८ कारोबारबाट ७१ कम्पनीका ८१ हजार ४ सय २० कित्ता शेयर खरीद-विक्री भए । यसबाट रू. २ करोड ३८ लाख भन्दा बढी रकम परिचालन भयो, भने रू. ३ खर्ब ५७ अर्बभन्दा धेरै कुल बजार पूँजीकरण भयो । सोमवार सबै समूहको परिसूचक घटेपछि कुल बजारपूँजीकरण र कुल कारोबार रकमसमेत घट्न बाध्य भए । कारोबार भएका ७१ कम्पनीमध्ये ४४ कम्पनीको शेयर मूल्य घट्यो, १४ कम्पनीको बढ्यो र १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
सोमवार अरुण भ्याली हाइड्रोपावर, एनडीईपी बैङ्क, ओरियण्टल होटल र मालिका विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्यो । यी कम्पनीहरूको शेयर मूल्य क्रमशः १३ दशमलव ७४, ९ दशमलव ६, ९ दशमलव ५६ र ७ दशमलव १४ प्रतिशत सस्ता भए । त्यसैगरी, एक्सेल डेभलपमेण्ट बैङ्क, नेरुडे लघुवित्त विकास बैङ्क र गण्डकी विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै क्रमशः ९, ८ र ७ प्रतिशत बढ्यो । सोमवार कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डू सबैभन्दा अघि रह्यो ।
यसको रू. १९ लाख ४५ हजारभन्दा धेरैको कारोबार भयो । शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा क्रमशः सूर्यदर्शन फाइनान्स र कृषि विकास बैङ्क सबैभन्दा अगाडि रहे । सूर्यदर्शनका २ सय ३ कारोबार भए भने, कृषि विकास बैङ्कका ७ हजार ३ सय ५८ कित्ता शेयर खरीद-विक्री भए ।