शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से चार दिनमा ५३ अङ्क माथि
असार ७, काठमाडौं (अस) । नेप्से मङ्गलवार पनि १३ दशमलव ४५ अङ्कले बढेपछि उकालो लागेको चौथो दिनमा ५३ अङ्कभन्दा माथि पुगेको छ । केही दिनदेखि बजारमा सकारात्मक समाचार प्रवाह भइरहेपछि मागको तुलनामा आपूर्ति कम हुँदै जाँदा नेप्से हरेक दिन दोहोरो अङ्कले बढ्न थालेको छ । तरलता समस्यामा परेका बैङ्क तथा वित्तीय संस्थाको अचल सम्पत्तिमा समेत पुनर्कर्जा दिने राष्ट्र बैङ्कको घोषणाले शेयर बजारमा वर्चस्व कायम गरेका वित्तीय क्षेत्रका कम्पनीहरूको मूल्य सबैभन्दा धेरै बढेको छ । त्यससँगै अरू समूहका परिसूचकहरू पनि हरियो बन्दै गएका छन् । राष्ट्र बैङ्कले केही दिन पहिले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जाको सीमा हटाउने सङ्केत दिएपछि बजार उकालो लाग्न शुरू गरेको हो ।

मङ्गलवार नेप्से १३ दशमलव ४५ अङ्कले बढेर ३ सय ४४ दशमलव २२ मा पुग्यो । परिसूचकसँगै कुल बजार पूँजीकरण र रकम परिचालन पनि बढेर रू. ४ करोडभन्दा माथि पुगेकाले बजार थप बढ्न सक्ने अनुमान गरिएको छ । यही गतिमा बढ्दै गएमा नेप्से परिसूचकको अबको पहिलो लक्ष्य ३ सय ६० हुनेछ भने दोस्रो ३ सय ७५ मा देखिएको छ ।

मङ्गलवार कारोबार भएका सबै समूहका परिसूचक बढे । जलविद्युत्, बैङिकङ, बीमा  र 'अन्य’ समूहका परिसूचक सबैभन्दा धेरै क्रमश: ३१ दशमलव २५, १९ दशमलव १७ र ६ दशमलव शून्य ४ र ५ दशमलव ८८ अङ्कले बढे । त्यसैगरी, विकास बैङ्क, वित्त कम्पनी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक क्रमश: ४ दशमलव ८३, २ दशमलव ८४ र  २ दशमलव शून्य ९ ले बढे । नबिल बैङ्क, चिलिमे जलविद्युत्, एभरेष्ट बैङ्क र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. ५० देखि १ सय ८ सम्म बढे भने इन्भेष्टमेण्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, अरुणभ्याली, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, एलआईसी नेपाललगायत कम्पनीको शेयर रू. २० भन्दा धेरैले बढेपछि ती कम्पनी सूचीकृत समूहका परिसूचक उच्च अङ्कले बढेका हुन् ।

मङ्गलवार ८ सय ३५ कारोबारबाट ६८ कम्पनीका १ लाख २ हजार ७८ कित्ता शेयर किनबेच भएर रू. ४ करोडभन्दा धेरै परिचालन भयो भने ३ खर्ब ६ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबार भएकामध्ये ५७ कम्पनीको शेयरमूल्य बढयो, ८ को घटयो भने बाँकीको स्थिर रह्यो । कारोबार सङ्ख्याका आधारमा ८० पटक कारोबार भएको ज्योति विकास बैङ्क अग्रस्थानमा रह्यो । त्यसैगरी, शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थान रह्यो । बीओकेका १८ हजार ७ सय ७५ कित्ता शेयर किनबेच भएर रू. ९४ लाख ६ हजारको कारोबार भयो । मङ्गलवार नबिल बैङ्कको शेयर सबैभन्दा धेरै बढयो भने पश्चिमाञ्चल विकास बैङ्कको सबैभन्दा धेरै घटयो ।

Admin 2011-06-22