नेप्सेसहित सबै समूहका परिसूचक घटे
वैशाख ७, काठमाडौं (अस)। साताको चौथो दिन बुधवार कारोबार भएका सबै समूहका परिसूचक घटेपछि नेप्से ३ दशमलव १८ अङ्कले घटयो । नयाँ वषको शुरुआतदेखि नै लगातार घटेको नेप्से बुधवार ३ सय ६१ दशमलव १२ बिन्दुमा आइपुगेको छ । बुधवार 'अन्य', बीमा र बैङ्किङ समूहको परिसूचक उच्च अङ्कले घटे । तेस्रो वार्षिक साधारणसभा प्रयोजनका लागि नेपाल टेलिकमको शेयर दर्ता पुस्तिका बन्द (बूक क्लोज) भएपछि यस कम्पनीको शेयरमूल्य घट्दा 'अन्य' समूहको परिसूचक घटेको हो । नेपाल टेलिकमको प्रतिशेयर मूल्य रू. ८ ले घटेपछि 'अन्य' समूहको परिसूचक ९ अङ्कभन्दा धेरैले घटयो । बैङ्किङ समूहअन्तर्गत एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य उच्च अङ्कले घटेपछि यो समूहको परिसूचक २ दशमलव ८५ अङ्कले घटयो । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य रू. ३२ र एशियन लाइफ इन्स्योरेन्सलगायत अन्य बीमा कम्पनीको शेयरमूल्य पनि ओरालो लागेपछि बीमा समूहको परिसूचक घटयो । बुधवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
बुधवार कारोबारमा आएका ६ समूहमध्ये जलविद्युत्, विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक १ अङ्कभन्दा कमले घटे । यसदिन कारोबार सङ्ख्या बढे पनि कम्पनी सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन पनि घटेका छन् । बुधवार २ हजार १ सय १ कारोबारबाट ८१ कम्पनीका ६६ हजार ५ सय १६ कित्ता शेयरको खरीद-विक्री भई रू. १ करोड ४७ लाख रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब २० अर्बको कुल बजार पूँजीकरण भएको छ । बुधवार कारोबारमा आएका मध्ये ४६ कम्पनीको शेयरमूल्य घटयो, १६ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रहयो ।
बुधवार कारोबार सङ्ख्याको आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क सबैभन्दा अग्रस्थानमा रहे । गौरीशङ्कर डेभलपमेण्ट बैङ्कका ३ सय ९ कारोबार भए भने ज्योति विकास बैङ्कका ८ हजार ५ सय ५० कित्ता शेयर किनबेच भए । त्यसैगरी, कारोबार रकमका आधारमा रू. १३ लाख १९ हजारभन्दा बढी रकमको कारोबार भएर नबिल बैङ्क अग्रस्थानमा रहयो । बुधवार सेण्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. १५ ले बढयो भने एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ६८ ले घटयो ।
Admin 2011-04-21