शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जलविद्युत् समूहले घटायो नेप्से
अभियान संवाददाता
भदौ ७ काठमाडौं । साताको शुरूदेखि नै घटेको नेप्से बुधवार पनि बढ्न सकेन । कारोबार शुरू भएदेखि नै घटेर कारोबार भएको नेप्से परिसूचक एकपटक पनि अघिल्लो दिनको बन्द मूल्यभन्दा माथि आउन सकेन । बुधवार बैङ्किङ, जलविद्युत् र वित्त कम्पनी समूहको परिसूचक घटेपछि नेप्से बढ्न नसकेको हो । मङ्गलवार ३ सय ४९ दशमलव ६७ मा बन्द भएको नेप्से बुधवार शून्य दशमलव १७ प्रतिशत घटेर ३ सय ४८ दशमलव ९३ मा आएको छ । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।   

कारोबारमा आएका सातमध्ये 'अन्य’, विकास बैङ्क, होटल र बीमा समूहको परिसूचक बढे । यी समूहका परिसूचकमा भएको वृद्धिभन्दा बैङ्किङ, जलविद्युत् र वित्त कम्पनी समूहका परिसूचकमा भएको ह्रास उच्च भएकाले नेप्से घटेको हो । जलविद्युत्, बैङ्किङ र वित्त कम्पनी समूहका परिसूचक क्रमश: ५ दशमलव ९४, १ दशमलव ५४ र १ दशमलव २ अङ्कले घटे । नेपाल बङ्गलादेश, माछापुच्छ्रे, नबिललगायत १३ बैङ्कको शेयरमूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक घटयो । अरुणभ्याली, बुटवल पावर, चिलिमे र नेशनल हाइड्रोको शेयरमूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक घटयो । त्यसैगरी, वित्त समूहका नेपाल फाइनान्स एण्ड सेभिङ, आईएमई फाइनान्स, स्वस्तिक मर्चेण्ट फाइनान्सलगायत १४ कम्पनीको शेयरमूल्य घटेपछि यो समूहको परिसूचक घटयो ।

बुधवार कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै घटे । कुल १ हजार ५८ खरीद-विक्रीबाट ८६ कम्पनीका १ लाख २४ हजार ६ सय ३४ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ३१ लाख ४५ हजार रकम परिचालन भयो भने रू. ३ खर्ब ११ अर्बको कुल बजार पूँजीकरण भयो । बुधवार ४६ कम्पनीको शेयरमूल्य घटयो, २३ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।

बुधवार कारोबार सङ्ख्याका आधारमा मनकामना विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा अन्नपूर्ण विकास बैङ्क अग्रस्थानमा रहे । मनकामनाका शेयर १ सय ५३ पटक किनबेच भए भने अन्नपूर्णका २५ हजार २ सय ५२ कित्ता शेयर किनबेच भए । रकमको आधारमा भने रू. ४७ लाख ३७ हजारभन्दा धेरैको कारोबार भएको बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । प्रतिशतको आधारमा अल्पाइन डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ९३ प्रतिशते बढयो भने नेपाल बङ्गलादेश बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ३५ ले घटयो ।

Admin 2011-08-25