शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेको वृद्धि जारी, ३ सय ५० को लक्ष्य
असोज ८, काठमाडौं (अस)। आइतवार नेप्से परिसूचक १ दशमलव २३ प्रतिशत बढेर ३ सय ३१ दशमलव ५८ पुग्यो । गत मङ्गलवारदेखि उकालो लागेको नेप्से परिसूचक आइतवार पनि बढेपछि जानकारहरूले थप बढ्ने अनुमान गरेका छन् । नेप्से यही गतिमा बढ्दै गएमा यसको आगामी लक्ष्य ३ सय ५० हुने उनीहरूको भनाइ छ ।

आइतवार कुल ९ सय ४५ कारोबारबाट ७२ कम्पनीका २ लाख ५१ हजार ३ सय ४३ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ६ करोड ४९ लाख रकम परिचालन भयो भने रू. ३ खर्ब १ अर्बको कुल बजार पूँजीकरण भयो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि हुनुले बजार थप सुधारको बाटोमा लागेको अनुमान छ । विगतका वर्षहरूमा दशैं नजिकिँदै जाँदा शेयरको विक्री चाप बढ्दा बजार घट्ने गरे पनि यसपटक भने लगातार सुधार भइरहेको छ । अधिकांश कम्पनीको शेयरमूल्य न्यून तहमा आएकाले व्यावसायिक लगानीकर्ताहरूले धमाधम शेयर खरीद गरेको बुझिएको छ ।

आइतवार ७ समूहको कारोबार भएकामा होटलबाहेक सबै परिसूचक बढे । होटल समूहको तारागाँउ रेजेन्सी होटलको शेयरमूल्य रू. २ घटेपछि यो समूहको परिसूचक शून्य दशमलव २९ प्रतिशत नकारात्मक भएको हो । 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै २ दशमलव ७२ प्रतिशत बढयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ११ ले बढेपछि यो समूहको परिसूचक उच्च अङ्कले बढेको हो । त्यसैगरी चिलिमे, अरुणभ्याली र नेशनल हाइड्रोपावरको शेयरमूल्य क्रमश: १५, २ र ५ रुपैयाँले वृद्धि भएपछि जलविद्युत् समूहको परिसूचक १ दशमलव ४६ प्रतिशत बढयो ।  

आइतवार बैङ्किङ समूहको परिसूचक १ दशमलव २४ प्रतिशत बढयो । हिमालयन, एभरेष्ट, इन्भेष्टमेण्ट, एसबीआईलगायत बैङ्कको शेयरमूल्य क्रमश: ५३, १४, ३४ र २१ रुपैयाँले बढेपछि यो समूहको परिसूचक बढेको हो । तर, नबिल बैङ्कको शेयरमूल्य रू. १९ घटयो भने स्ट्याण्डर्ड चार्टड र लक्ष्मीको शेयर रू. ४/४ घटे । त्यसैगरी, विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचक क्रमश: शून्य दशमलव शून्य २, शून्य दशमलव शून्य १ र शून्य दशमलव ३३ प्रतिशत बढे । सबैभन्दा धेरै कारोबार हुने र सबैभन्दा धेरै कित्ता शेयर किनबेच हुनेमा लक्ष्मी बैङ्क देखियो भने सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्भेष्टमेण्ट बैङ्क रह्यो । आइतवार नेशनल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै ४ दशमलव ९७ प्रतिशत सस्तियो भने हिमालयन बैङ्कको शेयर सबैभन्दा धेरै १० प्रतिशत बढयो ।  

अडुकियाका १ लाख ६६ कित्ता शेयर खेतानले किने आइतवार लक्ष्मी बैङ्कका १ लाख ६६ हजार ३ सय ८४ कित्ता शेयर किनबेच भएर रू. ४ करोड ८ लाख २६ हजारभन्दा धेरैको कारोबार भयो । गोर्खा डेभलपमेण्ट बैङ्क प्रकरणका प्रमुख अभियुक्त राकेश अडुकिया तथा उनीसम्बद्ध कम्पनीले डीसीबीएल बैङ्कमा धितो राखेका शेयर विक्री भएको बुझिएको छ । ब्रोकर नम्बर १४ तथा १८ बाट किनबेच भएका लक्ष्मीका अधिकांश शेयर बैङ्ककै अध्यक्ष राजेन्द्र खेतानसम्बद्ध कम्पनीको नाममा खरीद गरिएको थाहा हुन आएको छ । कारोबार भएकामध्ये अधिकांश शेयर पूर्वनिर्धारित मूल्य रू. २ सय ४५ मा किनबेच भएका छन् ।

Admin 2011-09-26