शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से पुन: ३ सय ५८ मा ओर्ल्यो
वैशाख ८, काठमाडौं (अस) । यो साताको शुरूदेखि नै घटेको नेप्से परिसूचक बिहीवार पनि बढ्न सकेन । बिहीवार कारोबारमा आएका जलविद्युत् समूहको परिसूचक स्थिर र बाँकी सबै समूहका परिसूचक घटेपछि नेप्से २ दशमलव ६६ ले घटेर पुन: १ महीना पहिलाको तह ३ सय ५८ मा आइपुगेको छ । चैत १५ गते नेप्से यही तहमा पुगेर बढ्न थालेको थियो । बिहीवार नेप्से घटे पनि कारोबार रकम भने बुधवारको तुलनामा केही बढेर रू. १ करोड ५७ लाख पुगेको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कका ३ हजार २ सय कित्ता संस्थापक शेयर ब्रोकर नम्बर १६ र २५ बीच किनबेच भए । सो शेयर बैङ्कका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले विक्री गरेको बुझिएको छ । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।  

बिहीवार कारोबारमा आएका ६ समूहमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ४ दशमलव ९७ ले घटयो । विशाल बजार कम्पनीको शेयरमूल्य रू. ५८ ले घटेपछि यो समूहको परिसूचक घटेको हो । बैङ्किङ र बीमा समूहको परिसूचक पनि २ अङ्कभन्दा धेरैले घटे । बैङ्किङ समूहमा सूचीकृत स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई, नेपाल क्रेडिट एण्ड कमर्श, सनराइज बैङ्कलगायत १४ कम्पनीको शेयरमूल्य घटेपछि यो समूहको परिसूचक घटयो । एशियन लाइफ, एलआईसी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घटेपछि बीमा समूहको परिसूचक पनि ओरालो लाग्यो । विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक क्रमश: १ दशमलव शून्य ४ र शून्य दशमलव ६७ ले घटे ।

बिहीवार कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या र शेयर कित्ता सङ्ख्या पनि बढे । बिहीवार २ हजार १ सय ९६ कारोबारबाट ८२ कम्पनीका ७९ हजार ४ सय १ कित्ता शेयर खरीद-विक्री भई रू. १ करोड ५७ लाखको कारोबार भयो । त्यसबाट रू. ३ खर्ब १८ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार कारोबार भएकामध्ये १४ कम्पनीको शेयरमूल्य बढयो, ५३ कम्पनीको शेयरमूल्य घटयो, भने बाँकीको स्थिर रहयो ।

शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहयो । बैङ्कको ४ सय ४५ कारोबारबाट ९ हजार १ सय १० शेयर किनबेच भए । त्यसैगरी कारोबार रकमको आधारमा सबैभन्दा धेरै रू.११ लाख ३२ हजार रकमको कारोबार भएको स्ट्यान्डर्ड चार्टर्ड बैङ्क अग्रस्थानमा रहयो ।  बिहीवार एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४३ ले बढयो भने विशाल बजारको शेयरमूल्य सबैभन्दा धेरैले घटयो । यसदिन पहिलोपटक कारोबारमा आएको प्रोफेशनल विकास बैङ्कको १० कित्ता शेयर रू.३ सय १६ मा किनबेच भयो ।

Admin 2011-04-22