शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से आधा प्रतिशत घटयो
अभियान संवाददाता
भदौ ८ काठमाडौं । साताको अन्तिम दिन बिहीवार पनि नेप्से बढ्न सकेन । अधिकांश कम्पनीको शेयरमूल्य घटेर कारोबार भएपछि नेप्से घटेको हो । बिहीवार कारोबारमा आएका ७९ मध्ये ४६ कम्पनीको शेयरमूल्य घटयो भने २६ को मात्र बढयो । फलस्वरूप, नेप्से शून्य दशमलव ५७ प्रतिशतले घटेर ३ सय ४६ दशमलव ९३ बिन्दुमा बन्द भयो । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।  

कारोबारमा आएका सातमध्ये बैङ्किङ, विकास बैङ्क, 'अन्य’ र वित्त कम्पनी समूहका परिसूचक क्रमश: शून्य दशमलव ८७, शून्य दशमलव १२, २ दशमलव ३५ र १ दशमलव शून्य ८ प्रतिशतले घटे । माछापुच्छ्रे, लक्ष्मी, एनएमबी, नेपाल बङ्गलादेश, नेपाल इन्भेष्टमेण्टलगायत १४ वाणिज्य बैङ्कको शेयरमूल्य घटेको छ । त्यसैगरी, विकास बैङ्क समूहका कर्णाली, कामना, पश्चिमाञ्चल, मनकामना, महाकालीलगायत बैङ्कको शेयरमूल्य घटको छ । नेपाल टेलिकमको शेयर मूल्य रू. २ ले घटेपछि 'अन्य’ समूहको परिसूचक घटेको हो । जानकी, स्ट्याण्डर्ड, फेवालगायत फाइनान्सको शेयरमूल्य घटेपछि वित्त कम्पनीको परिसूचक घटयो ।

जलविद्युत्, होटल र बीमा समूहको परिसूचकमा क्रमश: १ दशमलव ९, शून्य दशमलव शून्य ५ र शून्य दशमलव १३ प्रतिशत सुधार भयो । अरुणभ्याली र चिलिमेको शेयरमूल्य घटे पनि नेशनल हाइड्रोको शेयरमूल्य बढेर कारोबार भएपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । नेशनलका १७ हजार १ सय ५० कित्ता शेयर मूल्य रू. २ ले मूल्य बढेर किनबेच भए । तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य रू. १ ले घटे पनि ओरियण्टलको शेयरमूल्य रू. २ ले बढेपछि होटल समूहको परिसूचक बढयो ।

बिहीवार कम्पनी सङ्ख्या घटे पनि कारोबार सङ्ख्या, खरीदविक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढे । कुल १ हजार ४ सय १४ खरीदविक्रीबाट ७९ कम्पनीका १ लाख ५० हजार ५ सय कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ३७ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. ३ खर्ब ९ अर्बको कुल बजार पूँजीकरण भयो ।

कारोबार सङ्ख्याका आधारमा विश्व विकास अग्रस्थानमा रह्यो भने शेयर सङ्ख्याका आधारमा तारागाउँ रिजेन्सी होटल अगाडि देखियो । विश्व विकासको शेयर १ सय ३८ पटक किनबेच भए भने तारागाउँका २० हजार कित्ता शेयर किनबेच भए । त्यसैगरी, रकम परिचालनका आधारमा रू. १९ लाख १९ हजारभन्दा धेरैको कारोबार भएको बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । सो दिन सिध्दार्थ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ४७ प्रतिशतले बढयो भने माछापुच्छ्रे बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव २६ ले घटयो ।

Admin 2011-08-26