शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से अझै स्थिर
चैत ८, काठमाडौं (अस)। मङ्गलवार पनि नेप्से लगभग स्थिर नै रहयो । नेपाल राष्ट्र बैङ्कले पूँजीबजार सुधारका लागि चालेका नीतिगत कदमको प्रभाव बजारमा पर्न नसकेपछि नेप्से स्थिर रहेको हो । राष्ट्र बैङ्कले सोमवार वाणिज्य बैङ्कहरूलाई म्युचुअल फण्ड स्थापना गर्न बाटो खुला गरेको थियो । साथै, गत शुक्रवार मार्जिन लेण्डिङ केही खुकुलो बनाउने निर्देशन दिएको थियो । तर, पनि बजार सुधार हुन नसक्नुलाई राष्ट्र बैङ्कको नीतिको प्रभाव नपरेको लगानीकर्ताहरूले बताएका छन् । 'बैङ्कहरूको ब्याजदर उच्च रहेकाले राष्ट्र बैङ्कले मार्जिन लेण्डिङ खुकुलो बनाए पनि त्यसको प्रभाव बजारमा पर्न सकेको छैन,’ एक लगानीकर्ताले भने । मङ्गलवार नेप्से शून्य दशमलव १४ अङ्कले घटेर ३ सय ७९ दशमलव ३२ बिन्दुमा आइपुगेको छ । यस दिन कारोबार रकम भने केही बढेको छ । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।

मङ्गलवार कारोबारमा आएका ६ समूहमध्ये 'अन्य' समूहको परिसूचक मात्र बढयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू.३ ले बढेपछि यो समूहको परिसूचक ४ दशमलव ७ अङ्कले बढयो । बाँकी सबै समूहका परिसूचक सामान्य अङ्कले घटे ।  मङ्गलवार एभरेष्ट फाइनान्स, गुहयेश्वरी मर्चेण्ट बैङ्क एण्ड फाइनान्स, हिमालयन फाइनान्स, भ्याली फाइनान्स र नबिल बैङ्कको शेयरमूल्य उच्च अङ्कले घटे ।

मङ्गलवार १ हजार ७ सय ५० कारोबारबाट ७५ हजार ९ सय ९१ कित्ता शेयरको खरीद-विक्री भई रू. १ करोड ८० लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट रू. ३ खर्ब ३५ अर्बको कुल बजार पूँजीकरण भएको छ । मङ्गलवार कारोबारमा आएका ७९ कम्पनीमध्ये ३९ को शेयरमूल्य घटयो, २५ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रहयो ।

मङ्गलवार शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहयो । ज्योति विकास बैङ्कको २ सय १७ कारोबारबाट ८ हजार ७ सय ५० शेयर किनबेच भए ।  नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै रू. १६ लाख ६१ हजार रकमको कारोबार भयो । मङ्गलवार एभरेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ६४ ले घटयो भने ड्रिप्रोक्स विकास बैङ्क र एनएमबी बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १० ले बढयो ।

Admin 2011-03-23