शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बुटवल पावरले घटायो नेप्से  
जेठ ८, काठमाडौं (अस) । गत बुधवारदेखि लगातार ओरालो लागेको बुटवल पावर कम्पनीको शेयरमूल्य आइतवार पनि रू. ५६ ले घटेपछि त्यसको नकारात्मक प्रभाव नेप्सेमा पर्यो । आइतवारको कारोबारमा चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. १७ ले बढे पनि बुटवल पावरसँगै अरुणभ्यालीको शेयरमूल्यसमेत घटेपछि जलविद्युत् समूहको परिसूचक २० दशमलव ७९ अङ्कले घटयो । जलविद्युत् समूहका साथै आइतवार कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक १ दशमलव २७ अङ्क तल झरेर ३ सय ४३ दशमलव ५७ मा बन्द भयो ।

जलविद्युत्बाहेक अरू समूहका परिसूचक भने सामान्य अङ्कले घटे । कारोबारमा आएका सबै समूहका परिसूचक ओरालो लागेपछि 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि क्रमश: शून्य दशमलव ११ र शून्य दशमलव ०९ अङ्कले घटे ।

बुटवल पावर कम्पनीको स्वामित्वमा सञ्चालित आँधीखोला जलविद्युत् परियोजनाको क्षमता विस्तारमा स्थानीयले अवरोध गरेको तथा तुलनात्मक रूपमा बढी सक्षम जलविद्युत् कम्पनी चिलिमेको साधारण शेयर खरीद गर्न बुटवल पावरको शेयरमा विक्री चाप परेको अनुमान छ । बुटवल पावरको शेयरमूल्य घटे पनि किनबेच भएका शेयर सङ्ख्या स्वभाविक नै छन् । त्यसका आधारमा यसमा चलखेल भएको वा कम्पनीको आधारभूत अवस्थामा नै परिवर्तन आएको मान्न नसकिने बुटवल पावर कम्पनीका सञ्चालक तथा ऊर्जा विज्ञ रत्नसंसार श्रेष्ठको भनाइ छ । एउटै ब्रोकरबाट कारोबार भएकाले परियोजनामा अवरोध भएको र कम्पनीले छिट्टै हकप्रद शेयर जारी गर्ने हल्ला फिजाएर केही व्यक्तिले नियतबस मूल्य घटाएको शेयर विश्लेषक रविन्द्र भट्टराईको भनाइ छ । तर, कम्पनीले पूँजी बढाउन हकप्रद शेयर जारी गर्ने निर्णय१ वर्षपहिला नै गरेको भए पनि अहिलेसम्म त्यसका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णयनभएकाले हकप्रद शेयरका कारणले मूल्य घटेको भन्न नमिल्ने श्रेष्ठ बताउँछन् ।

आइतवार १ हजार ६ सय ६७ कारोबारबाट ७९ कम्पनीका ७३ हजार ५० कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड २५ लाखभन्दा धेरैको कारोबार भयो भने, ३ खर्ब ५ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । कारोबार रकमका आधारमा रू. ९ लाख ९२ हजारको कारोबारसहित सिध्दार्थ डेभलपमेण्ट बैङ्क सबैभन्दा अग्रस्थानमा रह्यो । त्यसैगरी, पशुपति डेभलपमेण्ट बैङ्कका सबैभन्दा धेरै ९ हजार ७ सय १० कित्ता शेयर किनबेच भए भने कारोबार सङ्ख्याका आधारमा कुल १ सय ५८ कारोबारसहित तिनाउ विकास बैङ्क सबैभन्दा अग्रस्थानमा रह्यो । आइतवार १९ कम्पनीको शेयर मूल्य बढयो, ४४ कम्पनीको शेयर मूल्य घटयो भने बाँकी सबैको स्थिर रह्यो ।

आइतवारको कारोबारमा बुटवल पावर कम्पनीको प्रतिशेयर मूल्य सबैभन्दा धेरै रू. ५६ ले सस्तो बन्यो भने एभरेष्ट बैङ्कको शेयर सबैभन्दा धेरै रू. ४२ महँगो भयो ।

Admin 2011-05-23