आइतवार पनि घटयो नेप्से
साउन ८, काठमाडौं (अस)। आइतवार नेप्से परिसूचक ११ दशमलव १५ अङ्कले घटयो । अघिल्लो हप्ताको अन्तिम दिन ३ सय ७६ दशमलव ५८ मा बन्द भएको नेप्से परिसूचक आइतवार घटेर ३ सय ६५ दशमलव ४३ मा झरेको छ । आर्थिक वर्ष०६८/६९ को बजेट र मौद्रिक नीतिमा शेयर बजार सुधारका लागि केही नयाँ व्यवस्था गरिएकाले नेप्सेमा थप सुधार आउने अनुमान गरिएको थियो । तर, आइतवारको कारोबारले बजारमा अन्यौल बढाएको लगानीकर्ताहरूले बताएका छन् । विगत दुई/तीन सातादेखि नेप्से उतारचढावसहित क्रमिक रूपले बढिरहेको छ । गत साताको आइतवार करीब २० अङ्कले बढेको नेप्से दोस्रो दिन करीब ९ अङ्कले घटेको थियो । तेस्रो र चौथो दिन नेप्सेमा सामान्य सुधार भए पनि अन्तिम दिन करीब ४ अङ्कले घटेको थियो ।
आइतवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे । कारोबार भएका बीमाबाहेक सबै समूहका परिसूचक नकारात्मक बनेपछि नेप्से घटेको हो । जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ३४ दशमलव ३२ अङ्कले घटेर ६ सय ८ दशमलव ३६ मा पुग्यो । सो समूहअन्तर्गतको बुटवलपावर कम्पनीको शेयरमूल्य रू. ६२, चिलिमे हाइड्रोपावरको रू. २० र अरूणभ्यालीको रू. १७ ले घटेपछि समूहकै परिसूचक भारी अङ्कले घटेको हो । तर, सोही समूहको नेशनल हाइड्रोपावरको शेयरमूल्य भने रू. ३ ले बढयो । नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको 'अन्य' समूहको परिसूचक आइतवार १४ दशमलव १ अङ्कले घटयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य शेयरमूल्य रू. १२ ले घटेपछि सो समूहको परिसूचक घटेको हो । शेयर बजारमा निरन्तर उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक पनि आइतवार १३ दशमलव ९५ अङ्कले घटयो । यो समूहअन्तर्गतका स्टयाण्डर्ड चार्टर्ड, नबिल र नेपाल एसबीआई बैङ्कको शेयरमूल्य क्रमश: रू. ७९, ५० र ३३ ले घटे । त्यसैगरी एभरेष्ट, नेपाल इन्भेष्टमेण्ट, लक्ष्मी, हिमालयन, लुम्बिनीलगायत बैङ्कको शेयरमूल्य पनि ओरालो लागेपछि बैङ्किङ समूहकै परिसूचक भारी अङ्कले घटेको हो ।
त्यसैगरी, होटल समूहको परिसूचक ४ दशमलव ५२, विकास बैङ्कको ३ दशमलव शून्य १, वित्त कम्पनीको शून्य दशमलव शून्य १ अङ्कले घटे भने बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ४ अङ्कले बढयो । आइतवार ८ सय ४६ कारोबारबाट ७९ कम्पनीका १ लाख ७ हजार ३३ कित्ता शेयर किनबेच भएर रू. २ करोड ८२ लाख रकम परिचालन भयो भने ३ खर्ब २५ अर्बको कुल बजार पूँजीकरण भयो ।
आइतवार चिलिमे हाइड्रोपावर कम्पनी रू. ४६ लाख ४८ हजारका शेयर किनबेच भएर सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको सूचीमा उक्लियो । त्यसैगरी, भाजुरत्न फाइनान्स एण्ड सेभिङ कम्पनीको शेयर सबैभन्दा धेरै २८ दशमलव ५७ प्रतिशत सस्तियो भने नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७ दशमलव शून्य २ प्रतिशत महँगो भयो ।
Admin 2011-07-25