शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बैङ्किङ समूहले नेप्से घटायो
असोज ९, काठमाडौं (अस)। सोमवार नेप्से परिसूचक शून्य दशमलव १५ प्रतिशत घटयो । गत साताको मङ्गलवारदेखि निरन्तर बढेको नेप्से परिसूचक सोमवार सामान्य अङ्क घटेर ३ सय ३१ दशमलव १ मा बन्द भएको छ । नेपालको शेयर बजारमा नेतृत्वदायी भूमिका खेल्दै आएको बैङ्किङ समूहको परिसूचक सोमवार घटेपछि समग्र नेप्से परिसूचक नै नकारात्मक रहेको हो । विगत केही सातादेखि नेपाली शेयर बजार सुधारोन्मुख अवस्थामा रहेको अनुमान गरिएको छ । सोमवार नेप्से परिसूचक सामान्य नकारात्मक अवस्थामा देखिए पनि यो करेक्शन मात्र भएको सरोकारवालाहरूले बताएका छन् । आइतवारको तुलनामा सोमवार कम्पनी र कारोबार बढेकाले नेप्से घटेको भन्न नमिल्ने उनीहरूको तर्क छ ।

नेप्से घटेपछि सेन्सेटिभ र फ्लोट पनि घटे । सोमवार ८२ कम्पनीका १ हजार ८४ कारोबारबाट १ लाख ४९ हजार १७ कित्ता शेयर किनबेच भए । सो किनबेचबाट रू. ४ करोड २८ लाख परिचालन भयो भने रू. ३ खर्ब १ अर्ब बजार पूँजीकरण भयो । सोमवार रू. १ करोड ३५ लाखभन्दा धेरैको कारोबार भएर नबिल बैङ्कको संस्थापक शेयर धेरै कारोबार गर्नेमा पर्यो । सोही दिन आईसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ४६ प्रतिशत सस्तियो भने शुभेक्षा विकास बैङ्कको सबैभन्दा धेरै ९ दशमलव ४० प्रतिशत महँगो भयो ।

सोमवार कारोबार भएका सात समूहमध्ये बैङ्किङ, होटेल, विकास बैङ्क र वित्त कम्पनीको परिसूचक घटेको छ भने जलविद्युत्, बीमा र अन्य समूहको परिसूचक बढेको छ । सोमवार नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ४ ले बढेपछि 'अन्य' समूहको परिसूचक सबैभन्दा धरै शून्य दशमलव ९६ प्रतिशत बढयो । सोही दिन जलविद्युत् र वित्त कम्पनी समूहको परिसूचक समान अनुपात शून्य दशमलव ३ प्रतिशतले बढयो । सोमवार अरुणभ्याली र चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: रू. ३ र रू. ९ ले घटे पनि नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ६ ले बढेपछि जलविद्युत् समूहकै परिसूचक बढेको हो । सोही दिन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य रू. १० ले घटे पनि नेशनल, प्राइम लाइफ, सूर्या लाइफलगायत कम्पनीको शेयरमूल्य बढेकाले बीमा समूहको परिसूचक सकारात्मक देखिएको हो । सोमवार बैङ्किङ समूहको परिसूचक सबैभन्दा धेरै शून्य दशमलव ६८ प्रतिशत घटयो । सो दिन एभरेष्ट, नबिल र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य क्रमश: १९, ९ र ३ रुपैयाँले बढयो । तर, नेपाल इन्भेष्टमेण्ट, हिमालयन, नबिल बैङ्कको संस्थापक शेयर र नेपाल एसबीआईलगायत बैङ्कको शेयरमूल्य घटेकाले बैङ्किङ समूहको परिसूचक नकारात्मक रहेको हो । सोमवार होटल, विकास बैङ्क र वित्त कम्पनी समूहको परिसूचकको क्रमश:  शून्य दशमलव ३८, शून्य दशमलव शून्य १ र शून्य दशमलव ५२ अङ्कले घटेको छ ।