शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेसँगै कारोबार रकम र बजार पूँजीकरण पनि घटयो
चैत ९, काठमाडौं (अस)। साताको चौथो दिन बुधवार पनि नेप्सेले लगानीकर्ताहरूलाई निराश नै बनायो । बुधवार नेप्से १ दशमलव ६९ अङ्क घटयो भने भ्याली फाइनान्स र स्टयाण्डर्ड चार्टर्ड बैङ्कका लगानीकर्ताहरूले प्रतिशेयर रू. २२ देखि ८५ सम्म गुमाए । बुधवार जाकनी फाइनान्सका २ हजार संस्थापक शेयर ब्रोकर नम्बर १४ र १ बाट किनबेच भए । जानकी फाइनान्सका संस्थापक शेयरको मूल्य रू. ९६ ले बढयो र त्यसबाट रू. ४ लाख ५२ हजारको कारोबार भयो । बुधवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।

बुधवार कारोबारमा आएका ७ समूहमध्ये 'अन्य' र बीमा समूहका परिसूचक मात्र बढे । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. २ ले बढेपछि 'अन्य' समूहको परिसूचक २ दशमलव ३५ अङ्कले बढयो । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र सिध्दार्थ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य क्रमश: रू १० र २ ले बढेपछि बीमा समूहको परिसूचक शून्य दशमलव ७३ अङ्कले बढयो ।

बुधवार रकम परिचालन, कम्पनी सङ्ख्या, शेयर सङ्ख्या, कारोबार सङ्ख्या र कुल बजार पूँजीकरण सबै घटे । बुधवार १ हजार ३ सय ७७  कारोबारबाट ५८ हजार ७ सय ९५ शेयरहरूको खरीद-विक्री भई रू. १ करोड ३१ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ३४ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएका ७३ कम्पनीमध्ये ३७ कम्पनीको शेयरमूल्य घटयो, २१ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको शेयरमूल्य स्थिर रहयो ।

बुधवार शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहयो । ज्योति विकास बैङ्कका २ सय ४६ कारोबारबाट ९ हजार ७ सय ४० कित्ता शेयर किनबेच भए । कारोबार रकमका आधारमा भने स्टयाण्डर्ड चार्टर्ड बैङ्कको सबैभन्दा धेरै रू. १९ लाख ५५ हजारभन्दा बढी रकमको कारोबार भयो । तर, स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य भने सबैभन्दा धेरै रू. ८५ ले घटयो । त्यसैगरी, जानकी फाइनान्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै रू. ९६ ले बढयो ।

Admin 2011-03-24