कम्पनीहरूको सङ्ख्या बढयो, कारोबार रकम घटयो
फागुन ९, काठमाडौं (अस)। साताको दोस्रो दिन सोमवार कारोबारमा आएका कम्पनीहरूको सङ्ख्या बढे पनि कारोबार रकम भने ७३ प्रतिशतले घटयो । यस दिन ८० कम्पनीको कारोबार भए पनि रू.१ करोड ७३ लाखभन्दा केही बढी मात्र कारोबार भएको छ । त्यसैगरी, कारोबार रकमका आधारमा अग्रस्थानमा रहेका प्रमुख १० कम्पनी मध्ये ४ कम्पनीको शेयर मूल्य घटेपछि र २ कम्पनीको स्थिर मूल्यमा कारोबार भएपछि नेप्से पनि घटेको छ । कारोबार शुरू भएको केही समयमै डेढ अङ्कले बढेको नेप्से २ बजेर ७ मिनेट जाँदा उहीस्तरमा घटयो । सोमवार कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको प्रमुख १० मध्ये एक कम्पनी गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको शेयर मूल्य कारोबार शुरू भएको केही समयमै बढेपछि नेप्से बढेको थियो । तर, २ बजेर ७ मिनेट जाँदा नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य घटेर कारोबार भएपछि नेप्से घटेको हो । नेप्से कारोबार बन्द हुँदा शून्य दशमलव ८३ अङ्कले घटेर ४ सय ४ दशमलव ३२ बिन्दुमा आइपुगेको छ । सोमवार कारोबारमा आएका 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटेको छ ।
सोमवार कारोबारमा आएका ६ समूह मध्ये जलविद्युत्, वित्त र बीमा समूहको परिसूचक सामान्यले बढयो । सोमवार कारोबारमा आएको जलविद्युत् समूहको २ मध्ये १ कम्पनीको शेयर मूल्य बढ्दा र एकको स्थिर रहेपछि यो समूहको परिसूचक १ दशमलव शून्य ५ अङ्कले बढेको हो । अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य रू.९ ले बढयो र चिलिमे हाइड्रोपावरको शेयर मूल्य स्थिर रहयो । कारोबारमा आएका बैङ्किङ, विकास बैङ्क र अन्य समूहको परिसूचक भने घटेको छ ।
सोमवार करोबार सङ्ख्या, शेयर सङ्ख्या र कुल बजार पूँजीकरण पनि घटेको छ । सोमवार भएको १ हजार ५ सय ६५ कारोबारबाट ७८ हजार १ सय कित्ता शेयरको खरीद-विक्री भयो । यसबाट ३ खर्ब ५४ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भएको छ ।
सोमवार कारोबारमा आएका मध्ये ३७ कम्पनीको शेयर मूल्य घटयो, ३२ कम्पनीको शेयर मूल्य बढयो भने १० कम्पनीको स्थिर रहयो । सोमवार कारोबार सङ्ख्याको आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याको आधारमा एनसीएम म्युच्युअल फण्ड अग्रस्थानमा रहयो । गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको ४ सय २६ कारोबार भयो भने एनसीएम म्युच्युअल फण्डको १० हजार शेयर खरीद-विक्री भयो । कारोबार रकमको आधारमा स्टयाण्डर्ड चार्टर्ड बैङ्कको सबैभन्दा बढी रू.२८ लाख ९७ हजारको कारोबार भयो । सोमवार कारोबारमा आएका मध्ये काबेली विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २९ ले बढयो भने स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ५० ले घटयो । नेपाल बङ्गलादेश बैङ्क र नेपाल श्रीलङ्का मर्चेण्ट बैङ्कबीचको मर्ज प्रक्रियालाई सम्बन्धित सबै नियमक निकायहरूले स्वीकृति दिएपछि आज नेपाल बङ्गलादेश बैङ्कको कारोबार खुला गरिएको छ । कारोबार खुला भएसँगै नेपाल बङ्गलादेश बैङ्कको रू.१८ ले मूल्य बढेर ८० कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी आजैबाट कारोबारमा आएको अरुण फाइनान्सको १ हजार ४ सय ६० शेयर रू. १ सय ३० मा कारोबार भएको छ ।
Admin 2011-02-22