सबै समूहका परिसूचक घटेपछि नेप्से घटयो
जेठ ९, काठमाडौं (अस) । सोमवार कारोबारमा आएका सबै समूहका परिसूचक घटेपछि नेप्से करीब २ अङ्कले घटयो । समूहगत परिसूचकहरूमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा धरै २२ दशमलव ४३ अङ्कले घटेको छ । केही दिनयता बुटवल हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च अङ्कले घटेसँगै जलविद्युत् समूहको परिसूचक घट्ने क्रममा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ अरू जलविद्युत् कम्पनीहरूका तुलनामा केही कम रहेकाले कम्पनीको शेयरमूल्य घटेको बुझिन्छ । यही कारण अरुण भ्याली हाइड्रोको पनि शेयरमूल्य घटेको देखिन्छ । त्यसैगरी, आर्थिक हिनामिना गरेको आरोप लागेका शेयर मार्केट्स एण्ड फाइनान्सका पूर्वअध्यक्ष योगेन्द्र श्रेष्ठका आफन्तसँग रहेका बुटवल पावर कम्पनीका शेयरहरू बजारमा प्रवाह भएकाले पनि मूल्य घटेको अनुमान गरिएको छ । श्रेष्ठ र उनका आफन्तहरूसँग गरी कम्पनीको ७० हजार कित्ता शेयर रहेको बुझिएको छ । कम्पनीको शेयरमूल्य रू. ४९ ले घटेको छ ।
जलविद्युत् समूहपछि उच्च अङ्कले परिसूचक घट्नेमा 'अन्य’ समूह रहेको छ । यो समूहबाट कारोबारमा आएको एकमात्र कम्पनी नेपाल दूरसञ्चारको शेयरमूल्य भने स्थिर रहेको छ । एभरेष्ट बैङ्क, नबिल बैङ्कलगायत कम्पनीको शेयरमूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक १ दशमलव ४ अङ्कले घटयो । विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहको परिसूचक भने १ अङ्कभन्दा कमले घटेका छन् ।
यस दिन कम्पनी, शेयर र कारोबार सङ्ख्या सामान्य घटे भने रकम परिचालन सामान्य बढयो । यस दिन ७८ कम्पनीका १ हजार १ सय ८३ कारोबारबाट ६६ हजार ९२ शेयर किनबेच भई रू. १ करोड २६ लाखभन्दा बढी रकम परिचालन भएको छ । त्यसैगरी, रू.३ खर्ब ४ अर्ब कुल बजार पूँजीकरण भएको छ ।
सोमवार कारोबार सङ्ख्याका आधारमा अरुण फाइनान्स र शेयर सङ्ख्याका आधारमा भने नेपाल बङ्गलादेश बैङ्क अग्रस्थानमा छन् । अरुण फाइनान्सको १ सय १८ कारोबार भयो भने नेपाल बङ्गलादेशको ५ हजार १ सय शेयर किनबेच भए । कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको स्टयार्ण्र्डड चार्टड बैङ्कको रू. १३ लाख ३६ हजार रकम परिचालन भयो । सबैभन्दा धेरै शेयरमूल्य घट्नेमा बुटवल हाइड्रोपावर रह्यो भने धेरै बढ्नेमा एशियन लाइफ इन्स्योरेन्स, नेपाल बङ्गलादेश बैङ्क, एनएमबी बैङ्क रहेका छन् । यिनको शेयरमूल्य रू. ७ का दरले बढेको छ ।
Admin 2011-05-24