शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लिमिट रोक्का भएपछि कारोबार घटयो
साउन ९, काठमाडौं (अस)। सोमवार धेरैओटा ब्रोकर कम्पनीको कारोबार रोक्का भएपछि औसतभन्दा कम रकमको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार राफसाफ गर्नुपर्ने अवधिमा पनि शेयरको प्रमाणपत्र र कारोबार रकम नबुझाएका १० ब्रोकर कम्पनीको कारोबार रोक्का गरिएको हो । कारोबार सम्पन्न भएको दिनले 'टी प्लस थ्री डेज’ अर्थात् ३ दिनभित्र ब्रोकरहरूले शेयरको प्रमाणपत्र र कारोबार रकम नेप्सेको सेटलमेण्ट (राफसाफ) शाखामा बुझाउनुपर्दछ । सोमवार जम्मा ६० कम्पनीको शेयर खरीद-विक्री भए भने करोबार रकम रू. ९३ लाखमा सीमित भयो । सोमवार पनि जलविद्युत् र बैङ्किङ समूहको परिसूचक उच्चदरले घटेपछि नेप्से घट्ने क्रम रोकिएन । नेप्से ५ दशमलव २८ अङ्कले घटेर ३ सय ६० दशमलव १५ अङ्कमा आइपुग्यो । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको फ्लोट परिसूचक दुवै घटे ।

सोमवार खरिद-विक्री भएका ६ समूहमध्ये जलविद्युत्, बैङ्किङ, विकास बैङ्क र बीमा समूहको परिसूचक क्रमश: ३८ दशमलव ९१, ७ दशमलव शून्य ५, २ दशमलव ७६ र १ दशमलव ५३ अङ्कले घटे । जलविद्युत् समूहका सबै कम्पनीको शेयरमूल्य घटेको छ । बुटवल पावर कम्पनी, चिलिमे जलविद्युत्, अरुण भ्याली हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: रू.५६, ३०, १२ र ५ ले घटे । बैङ्किङ समूहका १८ बैङ्कको शेयरमूल्य घटेको छ ।  स्टयाण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, कुमारीलगायत बैङ्कको शेयरमूल्य रू. १४ देखि ६७ सम्म घटे । त्यसैगरी, १६ विकास बैङ्कको शेयरमूल्य घटे । साथै, प्राइम लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घट्दा बीमा समूहको परिसूचक घटयो । 'अन्य’ समूहको परिसूचक भने स्थिर रह्यो ।  

सोमवार खरीद-विक्री सङ्ख्या र शेयर सङ्ख्या पनि घटेका छन् । सो दिन ४ सय ७८ खरीद-विक्रीबाट ३९ हजार ४ सय ८० कित्ता शेयर किनबेच भए । त्यसैगरी, रू. ३ खर्ब २१ अर्बको कुल बजार पूँजीकरण भयो । सोमवार ४४ कम्पनीको शेयरमूल्य घटयो, ५ कम्पनीको शेयरमूल्य बढयो, भने बाँकीको स्थिर रह्यो ।

सोमवार ५५ पटक शेयर किनबेच भएर कारोबार सङ्ख्याका आधारमा शुभलक्ष्मी फाइनान्स अग्रस्थानमा रह्यो । ४ हजार २ सय शेयर किनबेच भएको नेशनल हाइड्रोपावर कम्पनी शेयर सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो । रकम परिचालनका आधारमा रू.१० लाख ५३ हजारको कारोबार भएको बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । सो दिन स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ६७ ले घटयो भने जनरल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ९ ले बढयो ।