कात्तिक ९,काठमाडौं । मङ्गलवार शेयर बजार परिसूचक -नेप्से १ दशमलव १७ अङ्कले घटेर ४ सय २५ दशमलव ०४ विन्दुमा आयो । परिसूचक घटे पनि कारोबार रकम भने रू. ७५ लाखभन्दा धेरैले बढेर रू.२ करोड ३१ लाख ६६ हजारभन्दा माथि पुग्यो । नेप्से घटेपछि अन्य परिसूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोटसमेत ओरालो लागे ।
मङ्गलवार १ हजार ६२ वटा कारोबारबाट ७० कम्पनीका कुल ५७ हजार ६ सय ५८ कित्ता शेयर खरीद-विक्री भएर रू. ३ खर्ब ६० अर्ब भन्दा बढीको बजार पूँजीकरण भयो । मङ्गलवार कारोबार भएका वित्तकम्पनीसमूहबाहेक सबै समूहका परिसूचक घटे । वित्तकम्पनीसमूहको परिसूचक १ दशमलव ३५ अङ्कले बढ्यो, भने जलविद्युत्समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ९१ अङ्कले घट्यो ।
मङ्गलवार कारोबार रकम, कारोबार सङ्ख्या र खरीदविक्री भएका शेयर सङ्ख्याका आधारमा प्राइम कमर्सियल बैङ्क अग्रस्थानमा रह्यो । २ सय ३५ वटा कारोबारबाट प्राइमका ११ हजारभन्दा बढी कित्ता शेयर खरीद-विक्री हुँदा रू. ६० लाखभन्दा धेरैको कारोबार भयो । प्राइमको शेयर मूल्यमा भने अघिल्लो दिनको तुलनामा कुनै परिवर्तन नआउँदा रू. ५ सय २७ मा बन्द भयो । मङ्गलवार सिध्दार्थ फाइनान्स, अल्पाइन डेभलपमेण्ट बैङ्क र सूर्यदर्शन फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै घट्यो । यी कम्पनीको शेयर मूल्य क्रमशः रू. १ सय ३४, २७ र २४ ले घटे । सहयोगी विकास बैङ्क, एभरेष्ट बैङ्क र नारायणी डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै बढ्यो । यी कम्पनीको शेयर मूल्य क्रमशः रू. २३, १८ र १६ ले बढ्यो ।
बढ्दो आपूर्ति र बलियो डलरले कच्चा तेलको मूल्य घटायो
कात्तिक ९, सिङ्गापुर । मुद्राको विनिमयदरमा भइरहेको तीव्र उतार-चढावले अस्थिर बन्दै गएको कच्चा तेलको मूल्य मङ्गलवार प्रति ब्यारेल ८२ डलरभन्दा तल झर्यो । लगातार तेस्रो हप्ता पनि अमेरिकामा कच्चा तेलको आपूर्ति बढ्नु र अमेरिकी डलर बलियो हुनुलाई यसको मूल्य घट्नुको कारण मानिएको छ । अमेरिकी केन्द्रीय बैङ्क फेडले आगामी हप्ता नयाँ मौद्रिक उत्प्रेरणात्मक कार्यक्रम सार्वजनिक गर्न लागेकाले डलर यस सिजनकै सबैभन्दा बलियो बन्न जाँदा तेलको मूल्य ओरालो लागेको हो ।
अमेरिकी कच्चा तेलको डिसेम्बर कण्ट्रयाक्ट मङ्गलवार बजार खुलेलगत्तै प्रतिब्यारेल झण्डै आधा डलरले घटेर ८१ दशमलव ८४ सम्म आयो । कच्चा तेलको मूल्य ५ महीनायता सबैभन्दा उच्च प्रतिब्यारेल ८४ दशमलव ४३ थियो भने अहिले त्यस तहभन्दा ३ डलर तल छ । मङ्गलवार बिहान सामान्य झरे पनि दिनभरि यही तहमा चलिरहने अनुमान सिङ्गापुरको एएनजी कम्पनीकी तेल विश्लेषक सेरेना लिमको छ । उनले भनेकी छन्, 'बजारमा रहेका परिमाणात्मक बन्देज कम गर्ने कुरा भइरहेको छ, जसले बजारमा अझै बढी तरलता प्रवाह गर्ने छ । बजारमा अझै पनि विक्रीयोग्य तेलको सञ्चिति उच्च रहेको र तेल उत्पादक देशहरू (ओपेक) सँग अतिरिक्त क्षमता भएकाले तेलमा आउन सक्ने थप लगानीमा बिर्को लाग्ने देखिन्छ ।' यो स्थिति अझै केही समय रहने अपेक्षा गरिएको छ । सोमवार अमेरिकामा भोगचलनमा रहेका घरको विक्री अपेक्षा गरेभन्दा १० प्रतिशत धेरैले बढेपछि डलर केही कमजोर बन्दा कच्चा तेल प्रतिब्यारेल ८३ डलरभन्दा माथि पुगेको थियो ।
अमेरिकामा बढ्दो आपूर्ति
अमेरिकामा कच्चा तेलको आपूर्ति बढ्दै गएको छ । अक्टोबर २२ मा प्रकाशित प्रतिवेदनले कच्चा तेलको भण्डारण १४ लाख ब्यारेलले बढेको देखिएको रोयटर्सले बताएको छ । अमेरिकी तेलप्रशोधक कम्पनीहरूको प्रशोधन क्षमता शून्य दशमलव ३ ले बढेर ८२ दशमलव ८ प्रतिशत पुग्दा कच्चा तेलको मागसँगै आपूर्ति पनि बढ्दै गएको हो । तर, फ्रान्समा लामो समयदेखि चलिरहेको हडतालले अमेरिकाको इन्धन भण्डारणमा नकारात्मक प्रभाव पार्न सक्ने अनुमान विज्ञहरूले गरेका छन् ।
फ्रान्सका कुल १२ मध्ये ८ तेलप्रशोधक कम्पनीका कामदारहरूले हडताललाई निरन्तरता दिने पक्षमा मत जाहेर गरेका छन्, तर अन्य ५ मध्ये ३ प्लाण्टका कामदारले हडताल बन्द गर्ने पक्षमा मत हालेको यूनियनका अधिकारीले बताएका छन् । यसले पनि कच्चा तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । -रोयटर्स