नेप्से पुनः ४ सयतिर ओर्लियो
फागुन १०, काठमाडौँ । मङ्गलवार पनि नेप्से परिसूचक ३ दशमलव १२ अङ्कले घटेर ४ सय १ दशमलव २ अङ्कमा सीमित भयो । कारोबार शुरू भएदेखि नै घट्न शुरू गरेको नेप्से त्यसपछि बढ्न सकेन । कारोबार भएका कुल ७ समूहमध्ये ५ समूहको परिसूचक घटेपछि नेप्से ओरालो लागेको हो । नेप्सेमा महत्त्वपूर्ण स्थान ओगट्ने बैङ्किङ, जलविद्युत् र अन्य समूहको परिसूचक क्रमशः २ दशमलव ४९, ३ दशमलव ९५ र ९ दशमलव ४ अङ्कले घटेपछि नेप्से पनि घट्न वाध्य बन्यो । 'अन्य' समूह अन्तर्गत सूचीकृत २ कम्पनीमध्ये कारोबारमा आएको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ८ ले घटेपछि यो समूहको परिसूचक ठूलो अङ्कले घटेको हो । बैङ्किङ समूहअन्तर्गत स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. १० ले बढे पनि एभरेष्ट, कुमारी, माछापुच्छ्रे र नबिल बैङ्कको शेयर मूल्य घटेपछि यो समूहको परिसूचक पनि घटयो । अरुण भ्याली र चिलिमे जलविद्युत् कम्पनीको शेयरमूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक घटेको हो । त्यसैगरी विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक पनि घटे । बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक सामान्य अङ्कले बढे । नेप्सेमा आएको कमीसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधरण लगानीकर्ताले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
अघिल्लो दिनको तुलनामा मङ्गलवार कारोबार रकम, कम्पनी सङ्ख्या र कारोबार सङ्ख्या बढयो भने शेयर सङ्ख्या र कुल बजार पूँजीकरण घटयो । मङ्गलवार १ हजार ६ सय ६५ कारोबारबाट ८३ कम्पनीका ६५ हजार ७ सय ९४ कित्ता शेयर किनबेच भए । कुल कारोबार रकम रू. २ करोड ५ लाखमध्ये २० प्रतिशत हिस्सा स्टयाण्डर्ड चार्टर्ड बैङ्कले मात्र ओगटयो । यसको रू. ४१ लाख ४८ लाखबराबरको कारोबार भयो । मङ्गलबार कुल रू. ३ खर्ब ५१ अर्बबराबरको बजार पूँजीकरण भयो । मङ्गलवार नै ३ महीनापछि साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार भए पनि यसको शेयरमूल्यमा कुनै परिवर्तन नआई ३ सय ७ रुपैयाँमा नै स्थिर रहयो ।
मङ्गलवार कारोबारमा आएका कुल ८३ कम्पनीमध्ये २५ कम्पनीको शेयरमूल्य बढयो, ४४ कम्पनीको घटयो भने १४ कम्पनीको शेयर मूल्य स्थिर रहयो । मङ्गलबार शुभलक्ष्मी फाइनान्सका सबैभन्दा धेरै ४ हजार ५ सय ६० कित्ता शेयर खरिद-विक्री भए । प्रतिशतका आधारमा यती फाइनान्स, युनियन फाइनान्स र विश्व विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै घटयो भने काबेली विकास बैङ्क, गौरीशङ्कर विकास बैङ्क र एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै बढयो । रकमका आधारमा युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै रू. ८४ ले बढयो भने यती फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ४७ ले घटयो ।
Admin 2011-02-23