शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से एक महीनापछि ४ अङ्कले बढ्यो
माघ १० काठमाडौं । सोमवार नेप्से १ महीनापछि पहिलो पटक एकै दिन ४ अङ्कले बढ्यो । गत पुस १२ पछि नेप्सेमा पहिलोपल्ट एकैदिनमा यस्तो वृद्धि भएको हो । सोमवार नेप्सेले पहिलो प्रारम्भिक प्रतिरोध बिन्दु ४ सय ७ पनि तोडेको छ । नेप्सेका लागि अर्को प्रतिरोध बिन्दुका रुपमा ४ सय २५ रहने छ । गत भदौ १४ यता एक पटक ४ सय २६ भेटेको नेप्सेले त्यसपछि २ पटक ४ सय २५ मा पुगेर झरेको थियो । सोमवार क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको ब्लक शेयर कारोबार भएपछि यसले पनि नेप्से बढ्यो । फाइनान्सको कारोबार भएको कुल ५० हजार ४ सय १९ शेयरमध्ये ५० हजार ३ सय ४ शेयर  १९ नम्बर ब्रोकरबाटै खरीद-विक्री भएको छ । बाँकी १६ र १४ नम्बरको ब्रोकरबीच भएको देखिन्छ । फाइनान्सको प्रतिशेयर मूल्य रु.१ सय ५३ कायम भई रु.७७ लाख १४ हजारभन्दा बढी रकमको कारोबार भयो । नेप्से ४ अङ्कले बढेर ४ सय १० दशमलव ३४ बिन्दुमा पुग्यो । सोमवार बैङ्किङ र जलविद्युत् समूहको परिसूचकमा आएको सुधारले नेप्से बढायो भने वित्त समूहको सुधारले थप सजिलो बनायो । बैङ्किङ जलविद्युत् र वित्त समूहको परिसूचक क्रमशः ४ दशमलव १७ २ दशमलव ७४ र शून्य दशमलव ५६ ले बढे । एभरेष्ट सिद्धार्थलगायत बैङ्कहरुको शेयर मूल्य बढेपछि बैङ्किङ समूहको र चिलिमे अरुण भ्याली र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । सोमवार नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरुले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढेको छ ।

सोमवार कारोबारमा आएका ५ समूहमध्ये विकास बैङ्क र बीमा समूहको परिसूचक घटेको छ । सोमवार कारोबारमा आएका कम्पनीहरुको सङ्ख्या र कारोबार सङ्ख्या घटे पनि शेयर सङ्ख्या रकम परिचालन र कुल बजार पूँजीकरण बढेको छ । सोमवार ७६ कम्पनीको १ हजार २ सय ४७ कारोबारबाट १ लाख ७ हजार ६१ कित्ता शेयरको खरीद-विक्री भई रु। २ करोड ५३ लाखभन्दा बढी रकम परिचालन भएको छ । यसबाट ३ खर्ब ५८ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भएको छ ।

सोमवार कारोबारमा आएका मध्यॆ ४४ कम्पनीको शेयर मूल्य बढ्यो, २५ को घट्यो भने ७ को स्थिर रह्यो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स अग्रस्थानमा रह्यो । कारोबार सङ्ख्याका आधारमा युनिक फाइनान्सको सबैभन्दा धेरै २ सय ३४ कारोबार भयो । सोमवार एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रु।८० ले महँगियो भने जनरल फाइनान्सकॊ शेयर मूल्य सबैभन्दा धेरै रु.६३ ले सस्तियो ।