२८ कम्पनीका सबै शेयरका मूल्य घटे
साउन १०, काठमाडौं (अस)। मङ्गलवार नेप्से दिनभर घटयो । सो दिन कारोबारमा आएकामध्ये २८ कम्पनीको मूल्य घटेर किनबेच भएपछि नेप्से २ दशमलव ८२ अङ्कले घटयो । यी कम्पनीका २५ हजार ८३ कित्ता शेयरको मूल्य घटे, जुन किनबेच भएका कुल शेयर सङ्ख्याको ४८ प्रतिशत हो । नेप्से घटेर ३ सय ५७ दशमलव ३३ बिन्दुमा आइपुगेको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको फ्लोट परिसूचक दुवै घटे ।
सबैजसो वाणिज्य बैङ्कको शेयरमूल्य घटयो
सो दिन कारोबारमा आएका २१ वाणिज्य बैङ्कमध्ये १८ बैङ्कको शेयरमूल्य घटेर किनबेच भए । घट्ने बैङ्कमध्ये एघारको १ हजार कित्ताभन्दा बढी शेयर किनबेच भए । नबिल, बैङ्क अफ काठमाण्डू, नेपाल इन्भेष्टमेण्ट, हिमालयन, नेपाल इण्डष्ट्रियल, एनएमबीलगायत बैङ्कका शेयरमूल्य रू. १० भन्दा धेरैले घटे । यी कम्पनीहरूको शेयरमूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक ४ दशमलव ९३ अङ्कले घटयो ।
बैङ्किङसँगै कारोबारमा आएका सात समूहमध्ये चार समूहको परिसूचक घटयो । बीमा, वित्त कम्पनी र होटल समूहको परिसूचक क्रमश: २ दशमलव ४७, १ दशमलव शून्य ५, शून्य दशमलव ३८ अङ्कले घटे । एशियन, सगरमाथा र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घट्दा बीमा समूहको परिसूचक घटयो । त्यसैगरी, प्रभु फाइनान्स, कास्की फाइनान्स, शुभलक्ष्मी फाइनान्स, आईएमई फाइनान्सलगायत कम्पनीको शेयरमूल्य घट्दा वित्त कम्पनीको परिसूचक घटेको हो । होटल समूहबाट कारोबारमा आएको एकमात्र कम्पनी ओरेण्टियल होटलको शेयरमूल्य घटयो ।
जलविद्युत् र विकास बैङ्क समूहको परिसूचक क्रमश: ५ दशमलव ६४ र शून्य दशमलव शून्य २ अङ्कले बढेका छन् । चिलिमे जलविद्युत् र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य क्रमश: रू.१५ र ७ ले बढे । 'अन्य’ समूहको परिसूचक भने स्थिर रह्यो ।
मङ्गलवार कम्पनी, खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढे । मङ्गलवार ६४ कम्पनीका ५ सय १३ खरीद-विक्रीबाट ५१ हजार ४ सय ९३ कित्ता शेयर किनबेच भए । यसबाट रू. १ करोड ७८ लाखभन्दा धेरै रकम परिचालन भयो भने रू. ३ खर्ब १८ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार ३६ कम्पनीको शेयरमूल्य घटयो, २० कम्पनीको शेयरमूल्य बढयो, भने बाँकीको स्थिर रह्यो ।
मङ्गलवार खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबैका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । बैङ्कको ४९ पटक भएको खरीद-विक्रीबाट ७ हजार ८ सय २८ शेयर किनबेच भएर रू.४४ लाख ७९ हजारभन्दा धेरै रकम परिचालन भयो । सो दिन नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २९ ले घटयो भने चिलिमे जलविद्युत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरैले बढयो ।
Admin 2011-07-27