डेढ महीनापछि नेप्से ४ सय तल
फागुन ११, काठमाडौँ (अस)। साताको चौथो दिन बुधवार नेप्से २ दशमलव ७ अङ्कले घटेर डेढ महीनापछि ४ सयभन्दा तल आयो । ३ सय ९८ दशमलव ५ अङ्कमा सीमित भएको नेप्से गत पुस २६ गतेपछि यो तहमा आएको हो । बुधवार कारोबारमा आएका कुल ६ समूहमध्ये ५ समूहको परिसूचक घटे पनि नेप्से पनि ओरालो लागेको देखिन्छ । बुधवार कारोबारमा आएकामध्ये जलविद्युत् समूहको परिसूचक मात्र ३ दशमलव ९४ अङ्कले बढयो । यस समूहमा सूचीकृत अरुण भ्याली र नेशनल हाइड्रोपावरको शेयरमूल्य क्रमशः रू. १४ र १ ले घटे पनि चिलिमे हाइड्रोपावरको शेयरमूल्य रू. १९ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढयो । नेप्सेमा महत्त्वपूर्ण स्थान ओगट्ने बैङ्किङ, विकास बैङ्क, बीमालगायत वित्त र 'अन्य' समूहको परिसूचक घटयो । स्टयार्ण्डड चार्टड, नबिल, बैङ्क अफ एशिया, बैङ्क अफ काठमाण्डू र हिमालयन बैङ्कको शेयरमूल्यमा आएको कमीले बैङ्किङ समूहको परिसूचक ४ दशमलव ७४ अङ्कले घटयो । नेप्सेमा आएको कमीसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव २६ र सर्वसाधरण लगानीकर्ताले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक शून्य दशमलव २५ अङ्कले घटे ।
अघिल्लो दिनको तुलनामा बुधवार कारोबार रकम, शेयर सङ्ख्या र कारोबार सङ्ख्या बढे भने कम्पनी सङ्ख्या ७ ले घटेर ७६ को मात्र कारोबार भयो । बुधवार २ हजार १ सय ३७ कारोबारबाट ८३ हजार २ सय ५ कित्ता शेयरको खरीद-विक्री भयो । यसबाट कुल रू. २ करोड २८ लाख रकमको कारोबार भयो भने ३ खर्ब ४९ अर्बबराबरको कुल बजार पूँजीकरण भयो । बुधवार कारोबारमा आएका ७६ कम्पनीमध्ये १८ ओटाको शेयरमूल्य बढयो, ४४ को घटयो भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहयो । त्यसैगरी बुटवल फाइनान्सका ५ सय कित्ता संस्थापक शेयर पहिलोपटक प्रतिशेयर रू. १ सय ९९ मा खरिद-विक्री भए । बुधवार ज्योति विकास बैङ्कका सबैभन्दा धेरै ५ हजार ९ सय ८० कित्ता शेयर खरीद-विक्री भयो । यसैगरी बोर्टलर्स नेपाल (तराई) लिको सबैभन्दा धेरै रू. २७ लाख ३६ हजारको कारोबार भयो । यसका ३६ सय कित्ता शेयर रू. ७ सय ६० का दरमा खरीद-विक्री भए । प्रतिशतका आधारमा माछापुच्छ्रे बैङ्क, विश्व विकास र एनडीईपी विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै घटयो भने, काबेली विकास बैङ्क, जनरल फाइनान्स र मितेरी विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै बढयो । बुधवार काबेली विकास बैङ्कको शेयरमूल्य सबैभन्दा रू. ३५ ले बढयो भने स्टयार्ण्डड चार्टड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ५१ ले घटयो ।
Admin 2011-02-24