मन्त्रालयको छलफलले नेप्से बढयो
जेठ ११, काठमाडौं (अस)। साताको चौथो दिन बुधवार नेप्से सामान्य बढेको छ । बुधवार अर्थमन्त्रालयमा शेयर बजार सुधारका सम्बन्धमा भएको छलफल तथा त्यसको निर्णयबारे सामान्य जानकारी बजारमा आएपछि नेप्से बढेको हो । यसको प्रभावले भोलिको बजार थप बढ्ने विश्लेषकहरूले बताएका छन् । सीडीएस कम्पनी छिट्टै सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको तथा शेयर दलाल थप्ने प्रक्रियालाई नेप्सेले थप तीब्रता दिने विषयमा छलफल भएको नेप्सेले बताएको छ । छलफलमा संस्थागत लगानीकर्तालाई पोर्टफोलियो सिद्धान्तअनुसार दोस्रो बजारमा सक्रिय लगानी गरी बजारबाट हुने लाभ लिन सरकारले अभिप्रेरित गरेको विषयमा पनि चर्चा गरिएको थियो । बुधवार नेप्से बढ्न बैङ्किङ समूहमा सूचीकृत एभरेष्ट बैङ्क र कुमारी बैङ्कबीच मर्जर प्रक्रिया अगाडि बढेको खबरले पनि सहयोग पुगेको देखिन्छ । यस दिन नेप्से शून्य दशमलव ८७ अङ्कले बढयो भने 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।
बुधवार कारोबारमा आएका सातमध्ये दुई समूहको परिसूचक मात्र बढयो । होटल समूह र बैङ्किङ समूहको परिसूचक क्रमश: १ दशमलव ७ र शून्य दशमलव ८७ अङ्कले बढेका हुन् । होटल समूहमा सूचीकृत तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य रू. ३ ले बढेपछि यो समूहको परिसूचक बढयो । बैङ्किङ समूहका एभरेष्ट, एनएमबी, स्टयार्ण्र्डड चार्टर्ड, कुमारीलगायत बैङ्कको शेयरमूल्य रू. ६ देखि ४८ सम्मले बढेपछि यो समूहको परिसूचक बढेको हो । घट्नेमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै १४ अङ्कले घटयो । बुटवल पावर कम्पनीको शेयर आज पनि रू. ३२ ले घटेपछि यो समूहको परिसूचक घटेको हो । विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहको परिसूचक १ अङ्कभन्दा कमले घटे ।
बुधवार कम्पनी, शेयर र कारोबार सङ्ख्या र रकम परिचालनमा पनि वृद्धि भयो । यस दिन १ हजार ४ सय ५० कारोबारबाट ९१ कम्पनीका ९७ हजार ८३ कित्ता शेयर किनबेच भई रू. १ करोड ९९ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसैगरी, रू. ३ खर्ब ४ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये २८ कम्पनीको शेयरमूल्य बढयो, ३५ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।
बुधवार कारोबार सङ्ख्याका आधारमा १ सय ७ पटक कारोबार भएको ज्योति विकास बैङ्क अग्रस्थानमा रह्यो । त्यसैगरी १६ हजार ४ सय कित्ता शेयर किनबेच भई नेशनल हाइड्रोपावर शेयर सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो । नेपाल एसबीआई बैङ्कको शेयर कारोबारबाट सबैभन्दा धेरै रू. २२ लाख ४० हजार रकम परिचालन भयो । यो बैङ्कका ३ हजार ६ भन्दा बढी कित्ता शेयर ब्रोकर नम्बर १७ र ६ बीच म्याचिङ भएका छन् । यस दिन बुटवल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरैले घटयो भने एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू.४८ ले बढयो ।
Admin 2011-05-26