शेयर बजार बढयो
साउन ११, काठमाडौं (अस)। तीन दिनसम्म लगातार घटेको नेप्से बुधवार भने कारोबारको मध्यसम्म तल रहे पनि त्यसपछि बढ्ने क्रममा देखियो । कारोबारको अन्तिम समयतिर नेपाल टेलिकम, नबिल बैङ्क, एनआईसी बैङकको शेयरमूल्य बढयो । एभरेष्ट, नेपाल एसबीआई बैङ्कलगायत कम्पनीको शेयरमूल्य दिनभर नै वृद्धि भयो । फलस्वरूप, नेप्से ६ दशमलव ५ अङ्कले बढेर ३ सय ६३ दशमलव ८३ मा पुगेको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको मापक फ्लोट परिसूचक दुवै बढे ।
कारोबार भएका ६ समूहमध्ये बैङ्किङ, 'अन्य’ र विकास बैङ्क समूहको परिसूचक क्रमश: १० दशमलव ४८, ३ दशमलव ५३ र १ दशमलव १७ अङ्कले बढे । जलविद्युत्, वित्त कम्पनी र बीमा समूहको परिसूचक क्रमश: ४ दशमलव ३, २ दशमलव ११ र १ दशमलव १७ अङ्कले घटे । चिलिमेको शेयरमूल्य स्थिर रहे पनि नेशनल हाइड्रो र बुटवल पावरको शेयरमूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक घटेको हो । बीमा समूहका नेशनल, एशियन, प्राइमलगायत लाइफ इन्स्योरेन्स कम्पनीका शेयरमूल्य घटे । त्यसैगरी, वित्त कम्पनी समूहका आईएमई, आईसीएफसी, शुभलक्ष्मी, सगरमाथालगायत कम्पनीको शेयरमूल्य घटे ।
बुधवार कम्पनी सङ्ख्या, खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै वृद्धि भयो । १ हजार १ सय १७ कारोबारबाट ७८ कम्पनीका १ लाख ७१ हजार ४ सय ८८ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड ५० लाखभन्दा धेरै रकम परिचालन भयो भने रू. ३ खर्ब २४ अर्बको कुल बजार पूँजीकरण भयो ।
शेयरमूल्य घट्नेभन्दा बढ्ने धेरै
बुधवार कारोबार भएका कुल कम्पनीमध्ये ५३ प्रतिशत कम्पनीको शेयरमूल्य बढेको छ । सो दिन ४२ कम्पनीको शेयरमूल्य बढयो, २२ को शेयरमूल्य घटयो, भने बाँकीको स्थिर रह्यो । प्रतिशतका आधारमा डीसीबीएल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ७९ प्रतिशत बढयो भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको ६ दशमलव ८० प्रतिशत र ग्लोबल बैङ्कको ६ दशमलव ७४ प्रतिशत बढयो ।
बुधवार कारोबार सङ्ख्याका आधारमा विश्व विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थान रहे । विश्व विकासको शेयर १ सय १० पटक किनबेच भए भने नेशनल हाइड्रोका ७७ हजार ७ सय ५० कित्ता शेयर किनबेच भए । रकम परिचालनका आधारमा अग्रस्थानमा रहेको बैङ्क अफ काठमाण्डूको ९ हजार ४ सय ७७ शेयर किनबेच भएर रू. ५४ लाख ६१ हजारभन्दा धेरै रकम परिचालन भयो । सो दिन एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ५४ ले बढयो भने आईएमई फाइनान्सको सबैभन्दा धेरै रू. २४ ले घटयो ।
Admin 2011-07-28