ब्रोकरहरूका लागि आचारसंहिता आवश्यक छ ।
शेयरवार्ता
नरेन्द्रराज सिजापति
प्रबन्ध निर्देशक
कालिका सेक्युरिटिज

एक त सूचना प्राप्त गर्न कठिन छ। प्राप्त भएका सूचनाहरूलाई अनुसन्धान, विश्लेषण र त्यसको परिणामहरू दिन बन्देज गरिएको छ। शेयर ब्रोकरहरूले यी काम गर्न नपाइने कुरा नियमक निकायहरूले भनेका छन्। हामी यदि यी काम गरेर लगानीकर्तालाई बजारको अवस्थाबारे जानकारी दिन सक्दैनौं भने बजारको विकास कसरी हुन्छ ?
बजार प्रवेश गरेको धेरै भएको छैन ।
कारोबारको अनुभव कस्तो रह्यो ?
धेरै अगाडिदेखि प्रतीक्षारत रहेकाले कारोबार शुरू गर्दा केही समयसम्म त उत्साह नै थियो । तर, जब बजारको प्रकृति, नियमक निकाय र शेयर कारोबार प्रणालीलाई बुझ्दै गयौं, तब हाम्रो उत्साह पनि सेलाउँदै गयो । यो बजारका समस्याहरू अब कसरी सुधार गर्ने भन्ने चिन्ता हुन थालेको छ । बजारमा धेरै कुरा अस्पष्ट देखिएका छन् । बजारमा जब नयाँ ब्रोकर थपिनुपर्छ भन्ने सोच आएको थियो । हामीहरू थपिएपछिको औचित्य र हाम्रो बजारमा प्रवेशपछिको प्रभाव महइभ्वपूर्ण हुनुपर्ने थियो । तर, बजारमा जब हाम्रो प्रवेशको प्रभाव देखिएन, हाम्रो चिन्ता बढ्नु स्वाभाविक हो ।
बजारमा कस्तो अस्पष्टताको कुरा गरेको हो ?
हामीहरू छनोट हुन जुन मापदण्ड निर्धारण गरिएको थियो, त्यो मापदण्डको उपयोगिता के रह्यो ? मैले भन्न खोजेको के हो भने जसरी हाम्रो योग्यताको मापदण्ड बनाइयो, त्योअनुसार बजारमा काम गर्ने वातावरण, तरीका र सूचनाहरूलाई प्रयोग गर्न सक्ने भूमिका भने कतै पनि देखिएको छैन । ब्रोकर हुन जुन योग्यता माग गरियो, त्यसमा प्रश्न गर्नु पर्ने अवस्था देखिएको छ । यदि बजारप्रणाली, नीतिनियमहरूमा संशोधन गरिएन भने हामीले बजार विकासका लागि केही पनि गर्न सक्दैनौं । हाम्रो बजार प्रवेश गर्नुअघि जुन लक्ष्य थियो, हामीले सो पूरा गर्न सक्दैनौं । त्यसैले यी पक्षमा सुधारहरू गर्न गृहकार्य शुरू गरिसकेका छौं ।
त्यसो भए के के सुधार गर्नुपर्ने हो त ?
सबैभन्दा पहिला लगनिकर्ताहरुलाई सुचना सम्प्रेशण गर्न उनीहरूलार्इ जागरुक बनाउन,सूचनाको विश्लेषण गरेर त्यसको परिणाम बताउने वातावरण हामीलाई उपलब्ध हुनु पर्छ । एक त सूचना प्राप्त गर्न कठिन छ । प्राप्त भएका सूचनाहरूलाई अनुसन्धान, विश्लेषण र त्यसको परिणामहरू दिन बन्देज गरिएको छ । शेयर ब्रोकरहरूले यी काम गर्न नपाइने कुरा नियमक निकायहरूले भनेका छन् । हामी यदि यी काम गरेर लगानीकर्तालाई बजारको अवस्थाबारे जानकारी दिन सक्दन भने बजारको विकास कसरी हुन्छ ? हामीले बजारमा यही प्रकृतिको भूमिका माग गरेका छौ । तर, हामीले ग्राहकलाई आफ्नोतर्फबाट कुनै सूचना दिन नहुने र कुनै निणर्य बताउन हुँदैन भन्ने नियम छ । यो बजारको बाधक हो । हामी सबै नयाँ साथीहरूले अहिले देखिएका यी बाधा लाई हटाउनु पर्ने आवश्यकता देखेका छौ ।
तपाईंले भनेजस्तै गर्न सक्ने स्तरमा हाम्रो बजार नभएकाले ती बन्देज लगाइएको पनि त हुन सक्छ ?
हामीले दिएका सबै सूचना लगानीकर्ताहरूले अन्धाधुन्ध स्वीकार गर्नुपर्छ भन्ने हुँदैन । किनकि हाम्रो सूचना र विश्लेषणले सोहीअनुसारको परिणाम दिनुपर्छ । परिणाम हेर्ने अवसर पनि लगानीकर्ताले पाउनु पर्छ । जसको सूचना बजारमा सबैभन्दा सही ठहर्छ, त्यसैको मात्रै विक्री हुन्छ र विश्वसनीय हुन्छ । हामीले यस्तै सूचना विक्री हुने वातावरण वा शुरुआतको अपेक्षा गरेका हौं । सूचनाको सर्वाधिक विक्री हुने अवस्था त त्यसको गुणस्तर र परिणाममा भर पर्छ । जोसँग क्षमता छ, उसैले नै बजारको विश्लेषण गर्ने र लगानीकर्ताको आत्मविश्वास जित्ने काम गर्छन् । जोसँग यो क्षमता हुँदैन, उसले अन्य काम गर्छ ।
अहिले कारोबार कस्तो रहेको छ त ?
हाम्रा ग्राहकहरूमा अधिकांश मध्यमस्तरका नयाँ लगानीकर्ताहरू छन् । बजारमा नाम चलेका र स्थापित भइसकेका लगानीकर्ताहरू अहिले हाम्रा ग्राहक भएका छैनन् । अहिले हामीले औसत दैनिक रू. ५ लाख कारोबार गरिरहेका छौं ।
कतिपय नया“ ब्रोकरहरूस“गको कुराकानीमा धेरैको ग्राहकमा पहिले बजारमा लगानी गरिरहेका लगानीकर्ता नै रहेको बताएका छन् । बजार बढ्नुको सट्टा बा“डिएको मात्र रहेछ नि ?
अन्य साथीहरूसँगको कुराकानीमा मैले पनि यही सुनेको छु । तर, मेरो व्यक्तिगत कुराहरु गर्नु पर्दा भने अवस्था फरक छ । हाम्रोमा अधिकांश नयाँ ग्राहक आएका छन् । पुराना लगानीकर्ता भने निकै कम छन् । त्यसैले मेरो कम्पनीबाट विक्रीभन्दा खरीद कारोबार बढी भइरहेको छ । करीब ८० प्रतिशत खरीद र २० प्रतिशत विक्री कारोबार हुने गरेको छ ।
लगानीकर्ताहरूले अहिलेको बजारलाई कसरी लिएका छन् त ?
अहिले धेरै लगानीकर्ताहरूको सोचमा एकरूपता छ । धेरैमा शेयर कम मूल्यमा किन्ने र बढी मूल्यमा बेच्ने हो भन्ने बुझाइ छ । वास्तवमा शयेरमा लगानी गर्ने भनेको त त्यो कम्पनीले दिने प्रतिफल र मुनाफामा निर्धारित हुनुपर्ने हो । तर, धेरै लगानीकर्तामा आज १ सय रुपैयाँमा किनेको शेयर भोलि १ सय १० मा बेच्न पाइयो भने पनि मुनाफा भयो भन्ने सोच रहेको छ । बजारमा अहिले पनि हल्लाका पछाडि लाग्ने लगानीकर्ताहरू प्रशस्त छन् ।
अल्पकालीन लगानी गर्नेले त छोटो समयमा जति नाफा आउँछ लिऊँ भन्ने सोच राखेका हुन्छन् नि ?
लगानी नाफा कमाउने उद्देश्यअनुरूप नै गरिएको हुन्छ । त्यसमा कसैको बिमति छैन । तर, कुनै कम्पनीले केही राम्रो मुनाफा दिँदैछ भने उल्टो सो कम्पनीको शेयर मूल्य नपत्याउँदो तरीकाले घटिरहेको हुन्छ । अर्काेतर्फ केही कम्पनीले मुनाफा नदिने खबर आयो भने पनि ती कम्पनीको मूल्य बढिरहेको हुन्छ । यसले के देखाउँछ भने सीमित मानिसहरूले बजारलाई आफूले चाहेको गति दिएका छन् । यसबाट हुने असर सर्वसाधारण लगानीकर्ताले भोग्नु नपरोस् भन्ने हाम्रो मनशाय हो । तर, उनीहरू पनि त्यही समूहको पछि लाग्छन् र गुमाउन पुग्छन् ।
लगानीकर्ताहरूको सङ्ख्या बढ्न नसकेको कारण पनि यस्तो भएको हो कि ?
यो पनि एक कारण हो । हामीकहाँ अहिले पनि लगानीकर्ताहरू यथेष्ट सङ्ख्यामा बढ्न सकेका छैनन् । नियामक निकायहरूले लगानीकर्ताको सङ्ख्या बढाउन विभिन्न पहल गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन । त्यसैले ब्रोकरहरूको समेत सहभागितामा लगानीकर्ता बढाउने काम गर्न जरुरी छ ।
त्यसो भए अहिले बजार विकासका लागि मुख्य काम के गर्नु पर्ला ?
सबैभन्दा पहिले ब्रोकरहरूका लागि आचारसंहिता तयार हुन जरुरी छ । यो पेशालाई मर्यादित बनाउन बजारको मुख्य इकाइका रूपमा रहेका ब्रोकरहरूलाई नै मर्यादित बनाउनु पर्छ । किनकि ब्रोकर भनेका लगानीकर्ता र नियमक निकायबीचको सेतु हो । यसले बजारप्रति लगानीकर्ताहरूको विश्वास बढ्छ भने नियमक निकायलाई पनि आवश्यक नीति निर्माणमा दबाब पुग्छ ।