शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा करेक्शन
असार १२, काठमाडौं (अस)। अघिल्लो हप्ता २५ प्रतिशतभन्दा धेरैले बढेको नेप्से परिसूचकमा आइतवार करेक्शन भएको छ । आइतवार नेप्से परिसूचक १७ दशमलव ६२ अङ्कले घटेर ३ सय ४६ दशमलव ७८ मा झरेपछि विश्लेषकहरुले नेप्सेमा करेक्शन भएको बताएका छन् । अघिल्लो साता कारोबार भएका सबै  दिन नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । साताभर नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा नेपाली शेयर बजारमा सुधारका प्रयासहरू शुरू भएको अनुमान गरिएको थियो । तर, यो हप्ताको पहिलो दिन नै नेप्से परिसूचक ओरालो लागेको छ । नेप्सेको यो घटाइलाई एक हप्तासम्म निरन्तर बढेको नेप्से परिसूचकमा सामान्य करेक्सन प्रभाव परेको लगानीकर्ताको भनाइ छ । त्यसैले आगामी दिनमा पनि नेप्से परिसूचकको वृद्धिले निरन्तरता पाउने उनीहरूको अनुमान छ । आइतवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबारमापक फ्लोट परिसूचक पनि घटे ।

आइतवार कारोबार भएका सात समूहमध्ये उत्पादन तथा प्रशोधन, वित्त कम्पनी र बीमा समूहको परिसूचक बढेको छ भने बैङ्किङ, विकास बैङ्क, जलविद्युत् र अन्यको परिसूचक घटेको छ ।  आइतवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी १० दशमलव ८७ अङ्कले बढेर ५ सय ३६ दशमलव ९ पुगेको छ । यो समूहअन्तर्गत बोटलर्स नेपालको शेयरमूल्य रू. ९९ ले बढेपछि समूहकै परिसूचक दोहोरो अङ्कले बढेको हो । बीमा र वित्त कम्पनीको परिसूचक क्रमश: २ दशमलव ५९ र १ दशमलव ३२ अङ्कले बढेको छ । आइतवार अन्य समूहको परिसूचक सबैभन्दा धेरै ५१ दशमलव ६९ अङ्कले घटेको छ । यो समूहअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ४४ ले ओरालो लागेपछि समूहकै परिसूचक घटेको हो । आइतवार जलविद्युत् समूहको परिसूचक ३१ दशमलव १६ अङ्कले घटयो । यो समूहअन्तर्गत चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ८९ ले घटेको छ । बुटवल पावर कम्पनी र अरूण भ्यालीले पनि चिलिमेलाई नै पछयाएपछि समूहकै परिसूचक घटेको हो । यसैगरी आइतवार  स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. १ सय ८१ अङ्कले घटेको छ भने  नबिल बैङ्क, एभरेष्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल इन्भेष्टमेण्ट बैङ्कलगायतले पनि उसैलाई पछयाएका छन् । यी बैङ्कको शेयरमूल्यमा कमी आएपछि नेपाली शेयर बजारमा निरन्तर उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक पनि १६ दशमलव ९१ अङ्कले घटयो ।

आइतवार ६९ कम्पनीका १ हजार २ सय ९ कारोबारबाट १ लाख ५८ हजार ८ सय ३७ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू. ५ करोड ९२ लाख रकम परिचालन भयो भने रू. ३ खर्ब ९ अर्ब बजार पूँजीकरण भयो । आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै १० दशमलव शून्य ५ प्रतिशत सस्तियो भने हिमालयन बैङ्कको सबैभन्दा बढी १० प्रतिशत महँगो भयो ।

Admin 2011-06-27