नेप्से बढेर ओर्लियो
असार १२, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार नेप्सेमा दशैंको प्रभाव देखिएपछि औसतभन्दा कम रकमको कारोबार भएको छ । केही दिनअघिसम्म दैनिक औसत रू. २ करोडको कारोबार हुँदै आएकोमा बिहीवार कारोबार रकम रू. १ करोड ३१ लाख ५४ हजारमा सीमित भएको छ । यो रकम मङ्गलवार कारोबार भएको रकमभन्दा रू. ४२ लाखले कम हो । कारोबारको अधिकांश समय बढेको नेप्से अन्तिम समयतिर घटे पनि कारोबार बन्द हुने समयमा पुन: बढयो । नेप्से शून्य दशमलव शून्य १ प्रतिशतले बढेर ३ सय ३१ दशमलव ४ बिन्दुमा आइपुगेको छ । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि बढे ।
बिहीवार कारोबारमा आएका ६ समूहमध्ये बैङ्िकङ, होटल र जलविद्युत् समूहको परिसूचक क्रमश: शून्य दशमलव ११, शून्य दशमलव १५ र शून्य दशमलव ४ प्रतिशतले घटे । लक्ष्मी, एभरेष्ट, माछापुच्छ्रेलगायत बैङ्कको शेयरमूल्य अन्तिम समयमा घटेपछि बैङ्किङ समूहको परिसूचक घटेको हो । होटल समूहको तारागाउँ रिजेन्सी र जलविद्युत् समूहको नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेपछि यी समूहको परिसूचक घटे । त्यसैगरी, व्यापार, बीमा, वित्त कम्पनी र विकास बैङ्क समूहको परिसूचक सामान्य बढे । यी समूहका परिसूचक क्रमश: १ दशमलव ८८, शून्य दशमलव ९४, शून्य दशमलव २७ र शून्य दशमलव २५ प्रतिशतले बढे । 'अन्य’ समूहको परिसूचक भने स्थिर रह्यो । धेरैपछि कारोबारमा आएको विशालबजार कम्पनीको शेयरमूल्य रू. ५४ ले बढेपछि व्यापार समूहको परिसूचक बढेको हो ।
बिहीवार कम्पनी सङ्ख्या, शेयर र कारोबार सङ्ख्या र रकम परिचालन सबै घटे । कुल ९ सय १ कारोबारबाट ७१ कम्पनीका ६७ हजार ७ सय ११ शेयर किनबेच भए । त्यसबाट रू. ३ खर्ब १ अर्बभन्दा बढी कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३५ कम्पनीको शेयरमूल्य बढयो, २२ कम्पनीको घटयो भने बाँकीको स्थिर रह्यो ।
बिहीवार कारोबार सङ्ख्याका आधारमा कामना विकास बैङ्क अग्रस्थानमा रह्यो । कामनाको १ सय ४९ पटक कारोबार भयो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा किष्ट बैङ्क अग्रस्थान रह्यो । किष्टका १३ हजार ७० कित्ता शेयर किनबेच भएर रू. १७ लाख ३४ हजारभन्दा धेरै रकमको कारोबार भयो । किष्ट बैङ्कले विदेशी साझेदार भित्र्याउन सक्ने सूचनासहित विशेष साधारणसभा बोलाएपछि बैङ्कको शेयर कारोबार बढेको हो । सो दिन स्ट्याण्डर्ड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ६८ प्रतिशतले बढयो भने प्रोफेशनल विकास बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ६४ प्रतिशतले घटयो ।
Admin 2011-09-30