नेप्सेले ३ सय ५८ को टेवा पनि तोडयो
वैशाख १२, काठमाडौं (अस)। साताको पहिलो दिनको कारोबारमा नेप्सले ३ सय ५८ को बलियो टेवा तोडेको छ । सोमवार नेप्से १ दशमलव ५८ अङ्कले घटेर ३ सय ५६ दशमलव ८८ बिन्दुमा आइपुगेको छ । गत चैत १५ गते ३ सय ५८ को टेवा पाएर फर्केको परिसूचक सोमवार भने यो तहभन्दा तल झर्यो । तर, नेप्सेले ३ सय ५५ को अर्को बलियो टेवा पाउन सक्छ । किनकि विसं २०६३ साउन १८ गते नेप्से यही बिन्दुबाट बुलिश ट्रेण्डमा देखिएको थियो । नेप्सेले गत हप्ता कायम गरेको उच्च, न्यून र बन्द बिन्दुका आधारमा यस हप्ताको लागि कायम भएको पिभट बिन्दुले यसको पहिलो टेवा पनि ३ सय ५५ लाई मानेको छ । सोमवार निकै कम कम्पनी कारोबारमा आए भने कारोबार, शेयर सङ्ख्या र रकम परिचालन सबै घटे । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटेको छ ।
सोमवार कारोबारमा आएका पाँचमध्ये जलविद्युत् समूह मात्र सामान्य बढयो । बैङ्किङ, विकास बैङ्क, वित्त र बीमा समूहको परिसूचक घटे । यस दिन एभरेष्ट फाइनान्स, एभरेष्ट बैङ्क, नेरुढे लघुवित्त विकास बैङ्क, नेपाल एसबीआई बैङ्क र स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयरमूल्य उच्चले घटे ।
कारोबार भएका ५८ कम्पनीमध्ये १६ को मात्र शेयरमूल्य बढेर कारोबार भयो । यसमा ३५ कम्पनीका शेयरमूल्य घटे भने अन्य स्थिर रहे । यस दिन १ हजार २ सय १२ कारोबारबाट ३३ हजार ६ सय २९ शेयर किनबेच भएका छन् । यसबाट रू. ६६ लाख ४६ हजारभन्दा बढीको रकम परिचालन भएको छ भने रू. ३ खर्ब १७ अर्ब कुल बजार पूँजीकरण भएको छ ।
यस दिन कारोबार र शेयर सङ्ख्याका आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क अग्रस्थानमा रहयो । बैङ्कको ४ सय १५ कारोबारबाट ४ हजार ७ सय कित्ता शेयर किनबेच भए । तर, गौरीशङ्कर र तिनाउ विकास बैङ्कको शेयर ससानो परिमाणमा म्याचिङ भएको देखिन्छ । त्यसैगरी बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. ११ लाख १८ हजारभन्दा बढी रकमको कारोबार भयो । यस दिन हिमालयन बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ८ ले बढयो भने एभरेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय ३९ ले घटयो ।
Admin 2011-04-26