शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेले तोड्यो प्रारम्भिक टेवा
फागुन १२, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार नेप्से ३ सय ९८ बिन्दुको प्रारम्भिक टेवा तोड्दै तल झरेको छ । बिहीवार कारोबार बन्द हुने समयभन्दा केही अघिसम्म यही बिन्दुमा फर्किएको नेप्से बन्द हुँदा भने १ दशमलव शून्य ४ अङ्कले घटेर ३ सय ९७ दशमलव ४६ मा पुग्यो । गत पुस १९ र २३ गते यही बिन्दुबाट नेप्से सामान्य बढेर ४ सय १३ बिन्दुसम्म पुगेको थियो । अब नेप्सेलाई आगामी टेवा ३ सय ९० बिन्दुमा मिल्न सक्छ । बिहीवार नेप्सेसँगै कारोबार रकम पनि ४२ प्रतिशतले घटेको छ । यस दिन रू. १ करोड ६० लाखभन्दा केही बढी रकम परिचालन भएको छ । बिहीवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक  सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटेको छ ।

बिहीवार कारोबारमा आएका ६ समूहमध्ये  विकास बैङ्क, बीमा तथा वित्त समूहको परिसूचक घटयो भने जलविद्युत् समूहको स्थिर रहयो । 'अन्य' र बैङिकङ  समूहको परिसूचक बढे पनि नेप्से बढ्न यो पर्याप्त भएन । 'अन्य' र बैङिकङ  समूहको परिसूचक क्रमशः ५ दशमलव ८७ र शून्य दशमलव ३६ अङ्कले बढेको नेप्सेले देखाएको छ । तर, 'अन्य’ समूहमा सूचीकृत नेपाल फिल्म डेभलपमेण्ट कम्पनी र नेपाल दूरसञ्चार कम्पनीमध्ये कारोबारमा आएको नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ५ ले घटे पनि नेप्सेले यो समूहको परिसूचक बढेको देखाएको छ ।

बिहीवार शेयर सङ्ख्या, कारोबार सङ्ख्या र कुल बजार पूँजीकरण पनि घटेको छ ।   बिहीवार ७६ कम्पनीको १ हजार ६ सय ८ कारोबारबाट ५९ हजार ८ सय २६ शेयर खरीद-विक्री भयो । यसबाट ३ खर्ब ४९ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भएको छ ।  

बिहीवार कारोबारमा आएका मध्ये ४७ कम्पनीको शेयर मूल्य घटयो, १८ कम्पनीको शेयर मूल्य बढयो भने  बाँकीको स्थिर रहयो ।

बिहीवार कारोबार सङ्ख्याको आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याको आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहे । गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको २ सय ५३ कारोबार भयो, भने ज्योति विकास बैङ्कको ५ हजार २ सय ६० शेयर किनबेच भए । बिहीवार गौरीशङ्कर, ज्योति विकास बैङ्कका साथै गरिमा विकास बैङ्कको पनि ससानो परिमाणमा म्याचिङ कारोबार भएको छ । कारोबार रकमको आधारमा चिलिमे जलविद्युत्ले सबैभन्दा धेरै रू.२९ लाख १३ हजारभन्दा बढीको करोबार गर्‍यो । कारोबारमा आएका मध्ये स्टयाण्डर्ड चार्टर्ड  बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू.३६ ले बढयो भने काबेली विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३८ ले घटयो ।

Admin 2011-02-25