नेप्से तीन अङ्क माथि
जेठ १२, काठमाडौं (अस) । साताको अन्तिम दिन बिहीवार नेप्से करीब ३ अङ्कले बढयो । कारोबारमा आएका बहुमत समूहका परिसूचक बढेपछि नेप्से बढेको हो । 'अन्य’, बैङ्किङ, विकास बैङ्क र बीमा समूहका परिसूचक बढे भने बाँकी सबै घटे । बुधवार अर्थमन्त्रालयमा शेयर बजार सुधारका सन्दर्भमा भएको छलफलको प्रभाव बिहीवार देखिएपछि नेप्से २ दशमलव ८४ अङ्कले बढयो । नेप्सेमा १० दिनपछि यो अनुपातमा सुधार भएको छ । छलफलपछि केही ठोस कदम देखिएमा बजारले थप उचाइ समात्नेछ । बिहीवार 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।
कारोबारमा आएका ६ समूहमध्ये जलविद्युत् र वित्त कम्पनी समूहका परिसूचक मात्र घटे । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. १५ ले बढेपछि 'अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै १७ दशमलव ६२ अङ्कले बढयो । बैङ्किङ, विकास बैङ्क र बीमा समूहका परिसूचक क्रमश: शून्य दशमलव ७७, १ दशमलव २९ र १ दशमलव ३३ अङ्कले बढे । बैङ्किङ समूहका हिमालयन, लक्ष्मी, नेपाल इन्भेष्टमेण्ट, कृषि विकासलगायत बैङ्कको शेयरमूल्य बढेपछि सो समूहको परिसूचक बढेको हो । नेशनल लाइफ, प्राइम लाइफ, सिध्दार्थ इन्स्योरेन्सलगायत कम्पनीको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक उकालो लाग्यो ।
घट्नेमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ९ अङ्कले घटयो । यो समूहमा सूचीकृत सबै कम्पनीको शेयरमूल्य घटेपछि परिसूचक घटेको हो । एनआईडीसी क्यापिटल मार्केट्सको सञ्चालकहरूको निर्वाचनका सम्बन्धमा पुन: विवाद भएपछि बिहीवार यो कम्पनीको प्रतिशेयर मूल्य रू. ९६ ले घटयो । त्यसैगरी, नागरिक लगानी कोषको शेयरमूल्य पनि रू. ४४ ले घटेपछि वित्त कम्पनी समूहको परिसूचक ओरालो लाग्यो । बिहीवार कम्पनी, शेयर र कारोबार सङ्ख्याका साथै रकम परिचालन केही कम देखिए पनि कुल बजार पूँजीकरण भने बढयो । यसले नेप्सेको वृद्धि दिगो हुन सक्ने सङ्केत गर्छ । बिहीवार १ हजार २ सय ३० कारोबारबाट ७९ कम्पनीका ७७ हजार २ सय ६९ कित्ता शेयर किनबेच भई रू. १ करोड ६० लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट, रू. ३ खर्ब ६ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयरमूल्य बढयो, ३२ को घटयो भने बाँकीको स्थिर रह्यो।
बिहीवार कारोबार सङ्ख्याको आधारमा १ सय ७१ पटक कारोबार भएको स्वस्तिक मर्चेण्ट फाइनान्स अग्रस्थानमा रह्यो । त्यसैगरी, १२ हजार १ सय ३५ कित्ता शेयर किनबेच भएर रू. २३ लाख ५८ हजार रकम परिचालन भएको प्राइम कमर्शियल बैङ्क शेयर सङ्ख्या र रकम परिचालनका आधारमा अग्रस्थानमा रह्यो । यस दिन एनआईडीसी क्यापिटल मार्केट्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ९६ ले घटयो भने लक्ष्मी बैङ्कको शेयर सबैभन्दा धेरै रू. १८ ले बढयो ।
Admin 2011-05-27