अन्तिम २ मिनेटमा २ अङ्क बढयो नेप्से
साउन १२, काठमाडौं (अस) । बिहीवार दिनभरिमा ३ अङ्कभन्दा बढी घटेको नेप्से परिसूचक अन्तिम २ मिनेटमा २ अङ्क माथि गएर बन्द भएको छ । बिहीवार दिनभर घटिरहेको नेप्से अन्तिम कारोबारहरूमा १०/१० कित्ता शेयर किनबेच गरी मूल्य बढाइएकाले परिसूचक बढेको देखिन्छ । फलस्वरूप, कारोबार बन्द हुने समयमा केही बढ्न खोजेको नेप्से अघिल्लो दिनको तुलनामा भने बढ्न सकेन । नेप्से शून्य दशमलव ६८ अङ्कले घटेर ३ सय ६३ दशमलव १५ बिन्दुमा सीमित भएको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको फ्लोट परिसूचक पनि घटे ।
बिहीवार कारोबार भएका ७ समूहमध्ये बैङ्किङ र होटल समूहको परिसूचक घटयो । नेपाल इन्भेष्टमेण्ट, एभरेष्ट, नबिल, बैङ्क अफ काठमाण्डू, बैङ्क अफ एशियालगायत बैङ्कको शेयरमूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक १ दशमलव ६५ अङ्कले घटयो । त्यसैगरी, ओरियण्टल होटलको शेयरमूल्य रू. १ ले घटेपछि होटल समूहको परिसूचक शून्य दशमलव ३८ अङ्कले घटयो । जलविद्युत्, 'अन्य’, बीमा, विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक भने क्रमश: १ दशमलव ३९, १ दशमलव १७, १ दशमलव १६, शून्य दशमलव १८ र शून्य दशमलव ११ अङ्कले बढे । नेशनल हाइड्रो र बुटवल पावर कम्पनीको शेयरमूल्य स्थिर रहे पनि चिलिमे र अरुणभ्याली कम्पनीको शेयरमूल्य रू. १ देखि ८ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । बीमा समूहका एशियन, प्राइम लाइफलगायत इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढयो । त्यसैगरी, विकास बैङ्क समूहका नेरुढे लघुवित्त, डिप्रोक्स, विराटलक्ष्मी, एस डेभलपमेण्टलगायत बैङ्कको शेयरमूल्य बढेको छ ।
बिहीवार कारोबार सङ्ख्या र शेयर सङ्ख्या बढे पनि रकम परिचालन भने केही घटयो । सो दिन १ हजार २ सय ५६ खरीद-विक्रीबाट ७८ कम्पनीका २ लाख ६४ हजार कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड २४ लाखभन्दा धेरै रकम परिचालन भयो भने ३ खर्ब २३ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन ३३ कम्पनीको शेयरमूल्य घटयो, ३२ कम्पनीको बढयो भने बाँकीको स्थिर रह्यो ।
बिहीवार शेयर सङ्ख्या र कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो । नेशनलका १ लाख ६६ हजार २ सय कित्ता शेयर किनबेच भएर रू. ६७ लाख ३१ हजार रकम परिचालन भयो । १ सय २२ पटक शेयर किनबेच भएर कर्णाली विकास बैङ्क कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो । सो दिन नेरुढे लघुवित्त विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २१ ले बढयो भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २२ ले घटयो ।
Admin 2011-07-29