नेप्से घटयो, दुईपटक सर्किट ब्रेकर
असार १३, काठमाडौं (अस) । गत साता सबै दिन दोहोरो अङ्कले बढेको नेप्से यस साता उही गतिमा घट्न थालेको छ । सोमवार पनि नेप्से १७ अङ्कले घटेपछि समय अगावै कारोबार बन्द भयो । सवा एक बजे ४ प्रतिशतले घटेपछि आधा घण्टा स्थगित गरिएको बजार त्यसपछि खुलेको केही समयमै ५ प्रतिशतसम्म घटेपछि २ नबज्दै कारोबार बन्द गरियो ।
बजार घटेपछि लगानीकर्ता, विश्लेषक र नियामक निकायहरूले मिश्रति प्रतिक्रिया दिएका छन् । 'संस्थागत लगानीकर्ताहरू बजारमा भित्रने र म्युचुअल फण्डका लागि एक बैङ्कको आवेदन परेको खबर आएपछि घटेको बजारमा शेयर किनेर त्यस्तो शेयर छिट्टै बेच्ने उद्देश्यले लगानी बढेको थियो,’ शेयर विश्लेषक अमृत रेग्मीले भने । तर, ती संस्थाको बजार प्रवेश नहुने देखिएपछि नेप्से घटेको रेग्मी बताउँछन् । रेग्मीकै विचारसँग मिल्दो धारणा ब्रोकर नम्बर १४ का अध्यक्षईश्वरी रिमालको पनि छ । रिमालका अनुसार राष्ट्र बैङ्कबाट पनि शेयर बजार सुधार कार्यक्रम आउने अपेक्षा लगानीकर्तामा बढेपछि नेप्से बढेको थियो । तर, त्यो आशा अहिले सेलाए जस्तो छ ।
'बजारमा अप्राकृतिक वृद्धि थियो त्यसैले सच्चिएको हो,’ लगानीकर्ता निर्मल प्रधानले भने । तर, उनको अनुमानमा अब फेरी बजार बढ्छ । सोमवार ससानो परिमाणमा कारोबार भएकाले अगामी दिनबाट भने बजार घट्न रोकिने सम्भावना धेरै रहेको प्रधानले बताए । नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरि पनि गत हप्ताको बजारको वृद्धिमा कुनै कारण नभएकाले अहिले घटेको स्वाभाविक देख्छन् । 'हाम्रो बजार स्पेकुलेटिभ प्रकृतिको छ, त्यसैले लगानीकर्ताहरूको मनोविज्ञान र लहडले प्रभाव परेको हो,’ गिरीले भने ।
नेप्से घटेपछि स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट बैङ्क, चिलिमे जलविद्युत्का लगानीकर्ताहरूले दुई दिनमा प्रतिशेयर रू.१ सयदेखि ३ सयसम्म गुमाइसकेका छन् । सोमबार कारोबारमा आएका आठ समूहमध्ये बैङिकङ, जलविद्युत्, 'अन्य' र विकास बैङ्क समूहको परिसूचक घटेको छ । होटल, उत्पादनमूलक र बीमा कम्पनीको परिसूचक बढे पनि अन्य समूह उच्चले घटेपछि नेप्से बढ्न सकेन ।
सोमवार औसतभन्दा कम कम्पनी कारोबारमा आए भने रकम परिचालन पनि घटेको छ । यस दिन ५२ कम्पनीका ४ सय ५१ कारोबारबाट ६९ हजार ७ सय ५४ शेयर किनबेच भए । यसबाट रू. १ करोड ४७ लाखभन्दा बढी रकम परिचालन र रू. २ खर्ब ९३ अर्बभन्दा बढी कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयरमूल्य घटयो, ९ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।
Admin 2011-06-28