कारोबार रोक्काले शेयर बजारमा सुस्तता
वैशाख १३, काठमाडौं (अस)। मङ्गलवार नेपाल स्टक एक्सचेञ्जले अधिकांश शेयर ब्रोकरहरूको कारोबार रोक्का (लिमिट शून्य) गरेपछि नेप्से परिसूचकसहित कारोबार भएका कम्पनी र कारोबार सङ्ख्या घटयो । धितोपत्र नियमावलीअनुसार कारोबार भएको तीन दिन (टी प्लस थ्री डेज) सम्म खरीद गर्ने ब्रोकरबाट रकम र विक्री गर्ने ब्रोकरबाट कागजात प्राप्त हुनुपर्ने व्यवस्था भए पनि यसो नभएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।
नेप्सेले चैत २५ गते जारी गरेको परिपत्रले नयाँ व्यवस्था गरेपछि बजारमा थप समस्या देखिएको छ । नेप्सेको परिपत्रअनुसार विक्री गर्ने ब्रोकरबाट कागजात प्राप्त भएको अवस्थामा पनि यदि शेयर खरीद भएको ब्रोकरबाट रकम प्राप्त नभए दुवैको कारोबार रोक्का हुनेछ । तर, रकम नबुझाउनेका कारण अर्को ब्रोकरको समेत कारोबार रोक्का हुने यो व्यवस्थाप्रति ब्रोकरहरूले असहमति जनाएपछि मङ्गलवार धितोपत्र बोर्ड र नेप्सेमा अलगअलग चरणमा वार्ता भएको छ ।
'नेप्सेको यो निर्णये कुनै एक ब्रोकरले गल्ती गर्दा अर्कोले समेत सजाय भोग्नुपर्ने अवस्था आएको छ,’ नेपाल शेयर दलाल सङ्घका महासचिव अञ्जनराज पौडयालले भने । खरीदकर्ता ब्रोकरबाट रकम प्राप्त नभए विक्रीकर्ताले नै खरीदकर्ताबाट रकम लिन पहल गर्नुपर्ने व्यवस्थासमेत नेप्सेले जारी गरेको परिपत्रमा गरेपछि थप समस्या परेको पौडयालले बताए । मङ्गलवार भएको छलफलमा ब्रोकरहरूले यो व्यवस्था हटाउनसमेत सुझाव दिएका छन् । वार्ता भोलि पुन: बस्ने गरी टुङ्गिएको बताइएको छ ।
मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ६६ अङ्कले घटेर ३५६ दशमलव २२ मा सीमित भयो । कारोबारमा आएका ६ समूहमध्ये बैङ्किङबाहेक सबै समूहको परिसूचक बढे पनि नेप्से बढ्न सकेन । बैङ्किङ समूहको परिसूचक १ दशमलव ३ अङ्कले घटेपछि नेप्सेसहित सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटयो । कारोबार रोक्का भएपछि जम्मा १० ब्रोकरबाट मात्र कारोबार भयो । दिनको १२ देखि १ बजेसम्म क्रमश: कारोबार रोक्का गरिएकाले केही ब्रोकरले त्यसपछि मात्र कारोबार गर्न पाएको पौडयालले बताए । मङ्गलवार, २ सय १० कारोबारबाट ३१ कम्पनीका ४ लाख ३४ हजार कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३१ लाख २७ हजारभन्दा बढीको रकम परिचालन भयो भने रू. ३ खर्ब १६ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार 'म्युचुअल ट्रेडिङ प्रालि'को नाममा रहेको बोटलर्स नेपाल (बालाजु)का ४ लाख २८ हजार कित्ता शेयर चन्द्रप्रकाश खेतानले खरीद गरेपछि शेयर सङ्ख्या र कारोबार सङ्ख्या भने बढयो । मङ्गलवार १६ कम्पनीको शेयरमूल्य घटयो, ८ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको शेयरमूल्य स्थिर रहयो ।
Admin 2011-04-27