नेप्सेमा सामान्य सुधार
भदौ १३, काठमाडौं (अस)। मङ्गलवार दिनभर अस्थिर बनेको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा करीब २ अङ्कले बढयो । नेपाल टेलिकम, स्ट्याण्डर्ड चार्टर्ड, नबिल बैङ्कलगायत केही कम्पनीहरूको शेयरमूल्यमा तीव्र घटबढ भएपछि नेप्से परिसूचक अस्थिर बनेको हो । करोबारको क्रममा नेपाल टेलिकम सूचीकृत 'अन्य’ समूहको परिसूचकमा सबैभन्दा धेरै घटबढ भयो । शुरूमा ९ अङ्कसम्म बढेको 'अन्य' समूहको परिसूचक कारोबार बन्द हुँदा भने साढे ३ अङ्क घटयो । आइतवार उच्च अङ्कले घटेको नेप्से परिसूचकमा सोमवार राष्ट्र बैङ्कले बैङ्कहरूमाथिको नियन्त्रण केही खुकुलो पारेको समाचार आएपछि क्रमिक सुधार भइरहेको छ । नेप्से शून्य दशमलव ५७ प्रतिशत बढेर झण्डै ३ सय ४० मा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि बढे ।
मङ्गलवार कारोबार भएका आठ समूहमध्ये बैङ्किङ, जलविद्युत् र विकास बैङ्क समूहका परिसूचक क्रमश: १ दशमलव ३६, शून्य दशमलव ७२ र शून्य दशमलव ४६ प्रतिशतले बढे । बैङ्किङ समूहका एभरेष्ट, नबिल, हिमालयन, कुमारी, माछापुच्छ्रे बैङ्कलगायतको शेयरमूल्य बढयो । चिलिमे, नेशनल हाइड्रोपावरलगायत कम्पनीको शेयरमूल्य बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । विकास बैङ्क समूहका सेवा, मनकामना, गरिमा, पब्लिक डेभलपमेण्ट बैङ्कको शेयरमूल्य बढेको छ । बीमा, 'अन्य’, होटल र वित्त कम्पनीको परिसूचक क्रमश: शून्य दशमलव ७५, शून्य दशमलव ७३, शून्य दशमलव १५ र शून्य दशमलव शून्य ४ प्रतिशतले घटे । राष्ट्रिय बीमा संस्थानको शेयरमूल्य रू. ६१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ११ ले घटेपछि बीमा समूहको परिसूचक घटेको हो । तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य घट्दा होटल समूहको र अरुण, नवदुर्गा, सूर्यदर्शन, प्रभुलगायत फाइनान्सको शेयरमूल्य घटेपछि वित्त कम्पनी समूहको परिसूचक घटयो । उत्पादन तथा प्रशोधनमूलक कम्पनीको परिसूचक भने स्थिर रह्यो ।
मङ्गलवार कम्पनी सङ्ख्या, खरीद-विक्री सङ्ख्या र रकम परिचालन बढे पनि शेयर सङ्ख्या घटयो । जम्मा १ हजार ५३ खरीद-विक्रीबाट ७४ कम्पनीका ६९ हजार ७२ शेयर किनबेच भए । त्यसबाट रू. २ करोड २१ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. ३ खर्ब ३ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार कारोबारमा आएकामध्ये ३६ कम्पनीको शेयरमूल्य बढयो, २८ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।
शेयर खरीद-विक्रीका आधारमा विश्व विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । विश्व विकासको शेयर १ सय ९० पटक किनबेच भए भने नेशनलको ९ हजार ८ सय शेयर खरीद-विक्री भए । रकम परिचालनका आधारमा रू. ७६ लाख ६८ हजार ६ सय ६० रकमको कारोबार भएको नबिल बैङ्क अग्रस्थानमा रह्यो । सो दिन प्रतिशतका आधारमा सबैभन्दा धेरै सेवा विकास बैङ्ककोे शेयरमूल्य १० प्रतिशतले बढयो भने नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव १६ ले घटयो ।
Admin 2011-08-31