शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

स्ट्यार्ण्र्डड र एनसीसीले बढाए नेप्सेको कारोबार
अभियान संवाददाता
मङसिर १३, काठमाडौं । सोमवार नेप्से परिसूचक घटे पनि कारोबार रकम र शेयर सङ्ख्यामा वृद्धि भयो । स्ट्यार्ण्र्डड फाइनान्स र नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको म्याचिङ भएकाले कारोबार रकम र शेयर सङ्ख्यामा वृद्धि भएको हो । सोमवार १ लाख ७६ हजार कित्ता शेयरको खरीद-विक्रीबाट रू. ४ करोड ४ लाख बराबरको रकम परिचालन भयो । त्यसैगरी, रू. ३ खर्ब ५३ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबार रकम बढे पनि कुल बजार पूँजीकरण आइतवारको तुलनामा कम हो । स्ट्यार्ण्र्डड फाइनान्सका ४६ हजार कित्ता शेयर खरीद- विक्री हुँदा रू. ७६ लाख ३४ हजार र नेपाल क्रेडिट कमर्श बैङ्कका ४२ हजार कित्ता शेयर खरीद-विक्रीबाट रू. ७५ लाख ९७ हजार रकमको कारोबार भयो । नेप्से परिसूचक भने १ दशमलव ५ अङ्कले घटेर ४ शय १५ दशमलव ६८ मा सीमित भयो । सोमवार कारोबार भएका ७ समूहमध्ये वित्त कम्पनी समूहको परिसूचक बढ्यो, 'अन्य' समूहको परिसूचक स्थिर रह्यो भने अरू सबै समूहका परिसूचक घटे । यूनाइटेड र स्ट्यार्ण्र्डड फाइनान्सको शेयर मूल्य क्रमशः रू. ८ र ३ बढेपछि यस समूहको परिसूचकमा सुधार आएको हो ।

सोमवार कारोबार भएका ७९ मध्ये ३७ कम्पनीको शेयर मूल्य घट्यो, २८ कम्पनीको शेयर मूल्य बढ्यो भने १४ कम्पनीको स्थिर रह्यो । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा स्ट्यार्ण्र्डड फाइनान्स अग्रस्थानमा रह्यो भने कारोबार सङ्ख्याका आधारमा ४ शय २१ कारोबारसहित जेनिथ फाइनान्स सबैभन्दा अघि देखियो । सोमवार नेरुडे लघुवित्त विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३ शय ९४ घट्यो भने हिमालयन बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै
रू. २९ ले बढ्यो । हकप्रद शेयर वितरण गर्न आइतवार बुक क्लोज भएपछि पहिलोपटक कारोबार भएकाले नेरुडेको शेयर मूल्य यति धेरै घटेको हो ।