नेप्सेको घट्ने क्रम रोकिएन
मङसिर १४, काठमाडौं । आर्थिक वर्ष२०६७/६८ को बजेट घोषणापछि शुरू भएको नेप्सेको घट्ने क्रम मङ्गलवार पनि रोकिएन । यस अवधिमा नेप्से बढ्नुको सट्टा बढ्दो दरमा घटिरहेको छ । नेप्से परिसूचक यो साता मात्रै ४ दशमलव ३ अङ्कले घटिसकेको छ । आइतवार नेप्से परिसूचक १ दशमलव ८३ अङ्क घटेर ४ शय १३ दशमलव ८५ मा सीमित भयो । आइतवार कारोबार भएका व्यापारसमूह, 'अन्य' समूह, विकास बैङ्कसमूह र वित्तकम्पनीसमूहका परिसूचकमा सुधार देखिए पनि त्यसको प्रभाव नेप्सेमा पर्न सकेन । तुलनात्मक रूपमा बैङ्किङ, जलविद्युत् र बीमासमूहका परिसूचक केही बढी अङ्कले घटेपछि समग्र नेप्से घटेको हो ।
मङ्गलवार १ हजार ५ शय ८२ कारोबारबाट ७० कम्पनीका ६६ हजार ४ शय ५२ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. १ करोड ९१ लाख रकम परिचालन भयो भने रू. ३ खर्ब ५२ अर्ब कुल बजार पूँजीकरण भयो । सोमवारको तुलनामा कारोबार सङ्ख्या, शेयर सङ्ख्या, कारोबार रकम र कुल बजार पूँजीकरण सबै घटेका छन् । मङ्गलवार कारोबार भएका ७० मध्ये ३६ कम्पनीको शेयरमूल्य घट्यो, २० को शेयरमूल्य बढ्यो भने ११ को शेयरमूल्य स्थिर रह्यो । कारोबार सङ्ख्याका आधारमा विशाल बजार कम्पनी सबैभन्दा अगाडि रह्यो । यसको कुल रू. १७ लाख ६७ हजार ७ शय ८० को कारोबार भयो । त्यसैगरी, शेयरसङ्ख्या र कारोबारसङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क सबैभन्दा अघि रह्यो । मनकामनाका ३ शय २८ कारोबारबाट १० हजार ८ शय ३० कित्ता शेयर किन-बेच भए ।
मङ्गलवार कारोबारमा आएका मध्ये विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रू. ५६ ले बढ्यो भने प्राइम कमर्सियल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २१ ले घट्यो । मङ्गलवारदेखि नै थप ३ कम्पनीका यूनिक फाइनान्सियल इन्सिटच्यूशन, गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र दियालो विकास बैङ्कको शेयर कारोबार शुरू भयो । यी कम्पनीको शेयरमूल्य क्रमशः रू. २ शय ९८, ३ शय ३३ र ३ शय १४ कायम भयो ।