शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ४८ प्रतिशत रिट्रेस लिएर फर्क्यो
असार १५, काठमाडौं (अस)। दुई हप्ता पहिला २ सय ९२ बाट फर्केर ३ सय ६५ सम्म पुगेको नेप्से परिसूचक यस हप्ता ४८ प्रतिशत रिट्रेस लिएर पुन: उकालो लागेको छ । गत शुक्रवार ३ सय ६५ मा बन्द भएको नेप्से यस हप्ताको आइतवार र सोमवार लगातार घटेर ३ सय २९ आएको थियो । मङ्गलवारको सार्वजनिक बिदापछि बुधवार खुलेको नेप्से कारोबार शुरू भए लगत्तै ओरालो लागेर ३ सय २० सम्म आए पनि दिउँसो २ बजेपछि पुन: उकालो लागेर ३ सय ३३ सम्म पुग्यो ।

गत साताका सबै दिन दोहोरो अङ्कले बढेको नेप्से यस साताको पहिला दुई दिन उही गतिमा घटेको थियो । अल्पकालीन रिट्रेसमेण्ट पुगेकाले बुधवार भने नेप्से बढेर ३ सय ३२ दशमलव ९३ मा बन्द भएको छ । लामो समयपछि सक्रिय बनेको शेयर बजारमा यत्तिको उतारचढाव स्वाभाविक भएको जानकारहरूले बताएका छन् । बुधवार कारोबार शुरू भएपछि उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहका परिसूचक घट्दा नेप्से पनि ओरालो लागेको थियो । तर, दिउँसो विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचकबाहेक सबै बढेपछि नेप्सेमा सुधार आएको हो । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बुधवार कारोबार भएका सातमध्ये जलविद्युत्, उत्पादन तथा प्रशोधन,  बैङिकङ, र 'अन्य’ समूहको परिसूचक क्रमश: १३ दशमलव ९५, १२ दशमलव ५३, ४ दशमलव ७५ र ४ दशमलव ६९ ले बढे । बोटलर्स नेपाल (बालाजु), स्टयाण्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट बैङ्क तथा बुटवल पावरको शेयरमूल्य रू. ४८ देखि १ सय १४ सम्म बढे । त्यसैगरी, बीमा, विकास बैङ्क र वित्त कम्पनी समूहको परिसूचक क्रमश: ३ दशमलव ९५, २ दशमलव ६९ र  १ दशमलव ६८ अङ्कले घटे ।

बुधवार कम्पनी सङ्ख्या, शेयर सङ्ख्या, कारोबार सङ्ख्या र रकम परिचालन पनि अघिल्लो दिनको तुलनामा बढयो । सो दिन ८ सय २६ कारोबारबाट ७१ कम्पनीका १ लाख ८२ हजारभन्दा धेरै कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ४ करोडभन्दा धेरै रकम परिचालन भयो भने रू. २ खर्ब ९६ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ४५ कम्पनीको शेयरमूल्य बढयो, १८ को मूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।

बुधवार शेयर सङ्ख्या र रकम परिचालनका आधारमा बल्क म्याचिङ भएको एनसीएम म्युचुअल फण्ड अग्रस्थानमा रह्यो । फण्डका १ लाख १ हजार इकाइ खरीद-विक्री भई रू. ३० लाख ३ हजारको कारोबार भयो । फण्डका १ लाख इकाइ ब्रोकर नम्बर १६ र २५ बीच कारोबार भएको हो । त्यसैगरी, ९५ पटक कारोबार भएको प्राइम कमर्शियल बैङ्क कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो । बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय १४ ले बढयो भने रेसुङ्गा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४० ले घटयो ।

वर्ल्ड मर्चेण्टको कारोबार रोक्का
नेप्सेले बुधवारबाट वर्ल्ड मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको शेयर कारोबार रोक्का गरेको छ । वर्ल्ड मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले रकम झिक्न आएका निक्षेपकर्ताहरूलाई रकम दिन नसकेको र बैङ्कका कार्यालयहरू बन्द गरेको खबर पत्रिकाहरूमा आएपछि कारोबार रोक्का गरिएको नेप्सेले बताएको छ । 'हामी चाँडै पत्र पठाएर यसबारे जानकारी लिन्छौं र आउने जवाफका आधारमा अगाडि बढ्छौं,’ नेप्सेका एक अधिकारीले भने ।

Admin 2011-06-30