शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय ५० भन्दा तल
वैशाख १५, काठमाडौं (अस)। नयाँ वर्ष२०६८ को पहिलो कारोबारदेखि नै ओरालो लाग्ने क्रममा देखिएको नेप्से परिसूचकको ओरालो गति बिहीवार पनि जारी रह्यो । बिहीवार कारोबारमा आएका ७८ मध्ये ४६ कम्पनीको मूल्य घटेर कारोबार भएपछि नेप्से घटेको हो । त्यसमध्ये १३ कम्पनीको शेयर रू. १० देखि १ सय ६० सम्म घटयो । फलस्वरूप, नेप्से २ दशमलव ४४ अङ्कले घटेर ३ सय ४७ दशमलव ७३ बिन्दुमा आयो । नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि ओरालो लागे ।  

बिहीवार कारोबारमा आएका सबै समूहको परिसूचक घटे पनि जलविद्युत्, 'अन्य' र बैङ्किङ समूहका परिसूचक उच्च अङ्कले घटे । ती परिसूचकहरू क्रमश: ५ दशमलव ५३, ४ दशमलव ७ र २ दशमलव ३९ अङ्कले घटे । जलविद्युत् समूहबाट कारोबारमा आएका चिलिमे, अरुणभ्याली र नेशनल हाइड्रोपावर कम्पनीको शेयर घटेपछि सो परिसूचक घटेको हो । नेपाल टेलिकमको शेयर मूल्य रू. ४ ले घटेपछि 'अन्य' समूहको परिसूचक घटयो भने स्ट्यान्डर्ड चार्टर्ड, नबिल, नेपाल एसबीआई बैङ्कलगायतको शेयरमूल्य घट्दा बैङ्किङ समूहको परिसूचक ओरालो लागेको हो । त्यसैगरी, विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचक पनि क्रमश: १ दशमलव ९६, शून्य दशमलव ६३ र शून्य दशमलव १६ अङ्कले घटे । बिहीवार कारोबार सङ्ख्या र शेयर सङ्ख्या केही बढे पनि कम्पनी सङ्ख्या र रकम परिचालन भने बुधवारको तुलनामा घटे । बिहीवार २ हजार ४ सय ५८ कारोबारबाट ७८ कम्पनीका ९१ हजार ८ सय ९० कित्ता शेयर खरीद-विक्री भई रू. १ करोड ८३ लाखभन्दा धेरै रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ९ अर्बको कुल बजार पूँजीकरण भयो ।  कारोबारमा आएकामध्ये २१ कम्पनीको शेयरमूल्य बढयो, ४६ कम्पनीको घटयो भने ११ को स्थिर रहयो ।

कारोबार सङ्ख्याका आधारमा गौरीशङ्कर विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । गौरीशङ्करका ९ सय ८९ कारोबार भए भने नेशनलका कुल १६ हजार ७ सय ४० कित्ता शेयर किनबेच भए । त्यसैगरी, कारोबार रकमका आधारमा रू. ३५ लाख ८१ हजार रकमको कारोबार भएर बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रहयो । बिहीवार एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ५६ ले बढयो भने डिप्रोक्स डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय ६० ले घटयो ।

Admin 2011-04-29