कारोबार रकम बढयो नेप्से घटयो
फागुन १५, काठमाडौं (अस)। साताको पहिलो दिन नेप्सेको कारोबार रकम गत साताको अन्तिम कारोबार दिनको तुलनामा दोब्बरभन्दा धेरैले बढयो । क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको बल्क म्याचिङमार्फत रू. १ करोड ८७ लाखबराबरको कारोबार भएपछि अघिल्लो दिनको भन्दा रू. १ करोड ८९ लाखले बढेर ३ करोड ४९ लाखबराबरको कारोबार भयो । आइतवार अघिल्लो दिनको तुलनामा कारोबार रकम बढे पनि नेप्से घट्ने क्रम भने रोकिएन । अघिल्लो दिनको तुलनामा नेप्से ३ दशमलव २७ अङ्कले घटेर ३ सय ९४ दशमलव १९ अङ्कमा पुगेको छ । नेप्सेमा आएको कमीसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ र सर्वसाधरण लगानीकर्ताले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक शून्य दशमलव ४२ अङ्कले घटे । आइतवार कारोबारमा आएका ६ समूहमध्ये 'अन्य' समूहको सूचकाङ्क घटेको छ, भने बीमा र जलविद्युत् समूहको सूचकाङ्क स्थिर रहेको छ । यसैगरी बैङ्किङ, विकास बैङ्क र वित्त समूहको सूचकाङ्क घटेको छ । बैङ्क अफ काठमाण्डू, नबिल र स्टयाण्डर्ड चार्टर्डजस्ता बैङ्कको शेयरमूल्य क्रमशः रू. २३, ४५, ४८ घटेपछि बैङ्किङ समूहको सूचकाङ्क सबैभन्दा धेरै ५ दशमलव ७५ अङ्कले घटयो । अन्य समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. २ ले बढेपछि यस समूहको सूचकाङ्क २ दशमलव ३४ अङ्कले बढेको छ ।
अघिल्लो दिनको तुलनामा आइतवार कारोबार रकम, शेयर सङ्ख्या र कारोबार सङ्ख्या बढयो । तर, करोबार भएका कम्पनी सङ्ख्या ७ ले घटेर ६९ ओटाको मात्र कारोबार भयो । आइतवार १ हजार ६ सय ८७ कारोबारबाट २ लाख ११ हजार ६ सय १८ ओटा शेयरको खरीद-विक्री भयो । आइतवार कारोबारमा आएका कुल ६९ कम्पनीमध्ये १३ ओटाको शेयरमूल्य बढयो । यसैगरी ४४ ओटाको घटयो, भने १२ ओटाको स्थिर रहयो । आइतबार कारोबार रकम र शेयर सङ्ख्यका आधारमा क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स सबैभन्दा अगाडि रहयो । आइतवार खरिद-विक्री भएका कुल शेयरमध्ये ६६ प्रतिशत शेयर क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको रहयो । यसका १ लाख ४० हजार कित्ता शेयरको खरीद-विक्री भयो । प्रतिशतका आधारमा अल्पाइन डेभलपमेण्ट बैङ्क, युनिक फाइनान्स र विराटलक्ष्मी विकास बैङ्कले सबैभन्दा धेरै घाटा बेहोरे भने, गरिमा विकास बैङ्क, स्वस्तिक मर्चेण्ट एण्ड फाइनान्स र सिटिजन्स इनभेष्टमेण्ट ट्रष्टले सबैभन्दा धेरै कमाएका छन् । आइतवार सिटिजन्स इनभेष्टमेण्ट ट्रष्टको शेयरमूल्य रू. ११ ले बढयो । भने, स्टयार्ण्डड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४८ ले घटयो ।
Admin 2011-02-28