शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय ५८ मा
साउन १५, काठमाडौं । आइतवार नेप्से परिसूचक ४ दशमलव ३३ अङ्कले घटयो । गत बिहीवार ३ सय ६३ दशमलव १५ मा बन्द भएको नेप्से परिसूचक आइतवार ३ सय ५८ दशमलव ८२ मा झरेको छ । नेप्से परिसूचक गत साता पनि बुधवारबाहेक सबै दिन ओरालो लागेको थियो । आर्थिक वर्ष०६८/६९ को बजेट तथा मौद्रिक नीतिमार्फत पूँजी बजारलाई केही सकारात्मक सम्बोधन भएपछि उकालो लागेको नेप्सेको वृद्धि अझै केही समय कायम रहने अनुमान सरोकारवालाहरूको थियो । मुलुकको राजनीतिक अवस्था थप अन्योलपूर्ण बन्दै गएकाले लगानीकर्ताहरू उत्साहित हुन नसकेको जानकारहरू बताउँछन् ।

आइतवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे । कारोबार भएका सात समूहमध्ये होटलबाहेक सबै समूहका परिसूचक नकारात्मक रहे । बैङ्किङ समूहको परिसूचक सबैभन्दा धेरै ६ अङ्कले घटयो । यो समूहअन्तर्गतका नबिल र एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै क्रमश: ३९ र २८ रुपैयाँ घटे । साथै, बैङ्क अफ काठमाण्डू, लक्ष्मी, सिटिजन्सलगायत बैङ्कको शेयरमूल्य पनि ओरालो लागेपछि यो समूहको परिसूचक ६ अङ्कले घटेको हो ।

आइतवार जलविद्युत् र 'अन्य' समूहका परिसूचक क्रमश: ४ दशमलव ९५ र ४ दशमलव ७ अङ्कले घटे । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ४ ले घटेपछि उक्त कम्पनीको एकाधिकार रहेको 'अन्य' समूहको परिसूचक नकारात्मक रहेको हो । त्यसैगरी, जलविद्युत् समूहअन्तर्गतको चिलिमे हाइड्रोपावरको शेयरमूल्य रू. १९ ले बढे पनि बुटवलपावर र अरूणभ्यालीको शेयरमूल्य क्रमश: २४ र ९ रुपैयाँले घटेपछि यो समूहको परिसूचक ओरालो लागेको हो । विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचक पनि क्रमश: शून्य दशमलव ८६, शून्य दशमलव ८४ र शून्य दशमलव ३२ अङ्कले घटे ।

आइतवार होटल समूहको परिसूचक भने २ दशमलव २६ अङ्कले बढयो । सोल्टी होटलको प्रतिशेयर मूल्य रू. २ ले बढेपछि समग्र समूहकै परिसूचक उकालो लागेको हो । सोल्टी होटलका रू. २ लाख ८१ हजार ८ सयका १ हजार ४ सय ९ कित्ता शेयर किनबेच भए । आइतवार १ हजार ९४ कारोबारबाट ८६ कम्पनीका ४ लाख ५ हजार ९ सय २५ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड ६४ लाख रकम परिचालन भयो भने ३ खर्ब १९ अर्बको कुल बजार पूँजीकरण भयो ।  सो दिन नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रू. १ करोड १९ लाखको कारोबार भयो । त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव शून्य २ प्रतिशत सस्तियो भने उद्यम विकास बैङ्कको सबैभन्दा धेरै ५ दशमलव ६८ प्रतिशत महँगो भयो ।

Admin 2011-08-01