नेप्सेमा ३ सय ५५ को टेवा परीक्षण
चैत १६, काठमाडौं (अस)। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले बुधवार ३ सय ५५ को टेवा परीक्षण गरेको छ । अघिल्लो हप्ता ३ सय ७६ मा बन्द भएको नेप्से परिसूचक यस हप्ताको शुरूका तीन दिन उच्च अङ्कले घटेको थियो । मङ्गलवार झण्डै ८ अङ्कले घटेर ३ सय ५८ मा आएको नेप्से बुधवार दिउँसो ३ सय ५५ सम्म आए पनि बजार बन्द हुँदा १ अङ्कले बढेर ३ सय ५६ मा बन्द भयो । नेप्सेको तत्कालीन टेवाका रूपमा रहेको ३ सय ५५ को तहबाट फर्केपछि अब केही बढ्न सक्ने अनुमान गरिएको छ । ३ सय ५० हाराहारीको तहलाई लगानीकर्ताहरूले मनोवैज्ञानिक टेवाका रूपमा लिएकाले यसभन्दा तल बजार आउन नसक्ने बताएका छन् । नियामक निकायबाट पनि केही सकारात्मक नीतिगत परिवर्तन भइसकेको अवस्थामा बजार बढ्न शुरू गर्नुलाई सकारात्मक रूपमा लिइएको छ ।
बुधवार नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सिटिभ परिसूचक बढयो भने सवसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने घटयो । बुधवार कुल ६ समूहको कारोबार भएकोमा 'अन्य' समूहको परिसूचक ७ दशमलव शून्य ५ अङ्कले बढयो भने बाँकी सबै समूहका परिसूचक घटे । घट्ने समूहका परिसूचक सामान्य अङ्कले घटेपछि 'अन्य' समूहमा भएको वृद्धिको प्रभाव नेप्सेमा परेको हो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. १० ले बढेपछि 'अन्य' समूहसहित नेप्सेमा पनि सुधार भएको हो । बुधवार १ हजार ५ सय ९५ कारोबारबाट ७६ कम्पनीका १ लाख ७ सय १५ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोड २० लाखबराबरको रकम परिचालन भयो भने ३ खर्ब १८ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवारको तुलनामा किनबेच भएका शेयर सङख्या, कारोबार भएका कम्पनी सङख्या तथा कारोबार सङ्ख्यामा पनि वृद्धि भएको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा नारायणी नेशनल फाइनान्स कम्पनीको संस्थापक शेयर सबैभन्दा अगाडी र⋲यो । यसका कुल २२ हजार ७८ कित्ता शेयर किनबेचबाट रू. २६ लाखभन्दा धेरैको कारोबार भयो । सो कम्पनीका संस्थापक शेयर २५ नम्बर ब्रोकरबाट विक्री भएर १६ नम्बरबाट खरीद भएको छ । परिमाणका शेयर कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क सबैभन्दा अघि रह्यो । यसका १ सय ८० कारोबार भए । बुधवार नबिल बैङ्कको शेयर सबैभन्दा धेरै रू. ५७ ले घटयो भने डिप्रोक्स डेभलपमेण्ट बैङ्कको शेयर सबैभन्दा धेरै रू. ३२ ले महँगो भयो ।
Admin 2011-03-31