नेप्से ३ सय ९० मा टेवा पाएर बढ्ने प्रयासमा
फागुन १६, काठमाडौं (अस)। सोमवार नेप्से ३ सय ९० को टेवा परीक्षण गरेर फर्कने प्रयासमा रहेको छ । गत पुस ४ गते यही बिन्दुको टेवा पाएर उभो लागेको नेप्से ४ सय १३ दशमलव ७६ बिन्दुसम्म पुगेको थियो । सोमवार ३ सय ९४ को बिन्दुबाट शुरू भएको नेप्से दिउँसो पाँचपटकसम्म ३ सय ९० सम्म पुगेर बढ्न थालेको देखिन्छ । सोमवार दिउँसो चिलिमे जलविद्युत्, एभरेष्ट, नबिल तथा स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य उच्चदरले घट्दा बैङ्किङ र जलविद्युत् समूहको परिसूचक क्रमशः ६ र ७ अङ्कसम्म घटे । तर, ती कम्पनीहरूको शेयर मूल्यमा केही सुधार आएपछि बैङ्किङ र जलविद्युत् समूहको परिसूचक क्रमशः ४ र ५ अङ्क घटेर बन्द भए । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ३ ले बढेपछि 'अन्य’ समूहको परिसूचक भने करीब ४ अङ्कले बढयो । कारोबार भएका बाँकी समूहका परिसूचक पनि नगन्य रूपमा घटेपछि नेप्से केही बढेर ३ सय ९१ दशमलव ६६ मा आई बन्द भयो । सोमवार नेप्से २ दशमलव ५३ अङ्कले घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
सोमवार कारोबार हुने कम्पनी, समूह र कारोबार सङ्ख्या बढे पनि शेयर सङ्ख्या, कारोबार रकम र कुल बजार पूँजीकरण भने घटे । कारोबारमा आएका ६ समूहमध्ये बैङ्किङ र जलविद्युत्सँगै विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहको परिसूचक पनि घटयो । सोमवार १ हजार ८ सय १० कारोबारबाट ८३ कम्पनीहरूका ९४ हजार ३ सय ५ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ४६ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४४ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो ।
सोमवार कारोबारमा आएका मध्ये ५५ कम्पनीको शेयर मूल्य घटयो , १७ को बढयो भने अन्यको स्थिर रहयो । कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा विश्व विकास बैङ्क अग्रस्थानमा रहयो । कुल २ सय ८६ कारोबारबाट यस बैङ्कका ८ हजार ६ सय ७० कित्ता शेयर किनबेच भए । कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. ३१ लाख ५१ हजार ३ सय २२ को कारोबार भयो । सोमवार स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयर सबैभन्दा धेरै रू. ११ ले महँगियो भने एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ६३ ले सस्तियो ।
Admin 2011-03-01