नेप्सेले बढ्ने बलियो आधार पायो
चैत १७, काठमाडौं (अस)। साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ६ दशमलव १४ अङ्कले बढेर ३ सय ६५ भन्दा माथि पुग्यो । बुधवार ३ सय ५५ को टेवा परीक्षण गरेर फर्किएको नेप्सेले अब उर्ध्व गति लिन सक्ने सङ्केत गरेको छ । ६ महीने प्रवृत्तिका आधारमा पनि ३ सय ५८ को तह नेप्सेका लागि बलियो टेवा बिन्दु बनेकाले यसको वृद्धि टिक्ने देखिएको हो । बुधवार धितोपत्र बोर्डले प्रकाशित गरेको बजार बढ्ने आशयको विज्ञप्ति तथा बिहीवार सम्पन्न 'सीडीएस एण्ड क्लियरिङ' कम्पनीको उद्घाटनजस्ता कुराले पनि बजार बढ्न सहयोग गरेको देखिन्छ । यस्तोमा सकारात्मक सन्देशहरूले लगानीकर्ताको मनोबल केही मात्रामा भए पनि सुधार भएकाले अब नेप्से उकालो लाग्नेमा थप आधार मिलेको छ । नेप्सेसँगै किनबेच भएका शेयरको सङ्ख्या, कारोबार सङ्ख्या, कम्पनी सङ्ख्या तथा कुल बजार पूँजीकरण पनि बढेकाले बजार अझै बढ्ने सङ्केत गर्दछ ।
नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढे । यसले बजारमा कम मूल्यमा शेयर पाएको अवस्थामा नयाँ लगानीकर्ता प्रवेश गरेको हुनसक्ने सङ्केत गरेको छ ।
बिहीवार कारोबारमा आएका ६ समूहमध्ये होटलबाहेक अरू सबै समूहका परिसूचक बढे । बैङ्किङ समूहको परिसूचक सबैभन्दा उच्च ८ दशमलव ९८ अङ्कले बढयो । नबिल, स्टयार्ण्र्डड चार्टर्ड, नेपाल एसबीआई, हिमालयन, एभरेष्टलगायत बैङ्कको शेयरमूल्य रू. २२ देखि ४२ सम्म बढेपछि बैङ्किङ समूहको परिसूचक बढेको हो । होटल समूहमा सूचीकृत सोल्टी होटलको शेयरमूल्य रू. ७ ले घटेपछि यो समूहको परिसूचक घटयो । विकास बैङ्क, जलविद्युत्, वित्त कम्पनी र बीमा समूहका परिसूचक पनि सामान्य अङ्कले बढे । बिहीवार १ हजार ६ सय ९५ कारोबारबाट ८० कम्पनीका २ लाख ९९ हजार ७ सय ५८ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. ८ करोड ७१ लाखभन्दा धेरै रकम परिचालन भयो भने ३ खर्ब २३ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो ।
बिहीवार कारोबारमा आएकामध्ये २८ कम्पनीको शेयरमूल्य घटयो, ४६ को बढयो भने बाँकीको शेयर मूल्य स्थिर रहयो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्कका सबैभन्दा धेरै ४ सय १७ कारोबार भए । नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४२ ले बढयो भने छिमेक लघुवित्त विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ६६ ले घटयो ।
नेशनल लाइफको बल्क म्याचिङ
बिहीवार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बल्क म्याचिङ कारोबार भएपछि नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य मात्राले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका २ लाख ९ हजार कित्ता शेयर किनबेच भएकोमा २ लाख ८ हजार ६ सय ८ कित्ता शेयर ब्रोकर नम्बर २० र ३२ बाट म्याचिङ भएका थिए । ब्रोकर नम्बर ३२ बाट विक्री भएका ती शेयर कम्पनीका सञ्चालक मध्येकै तेजस्वी राणाले प्रतिशेयर रू. ३ सयमा ब्रोकर नम्बर २० बाट खरीद गरेको बुझिएको छ । उक्त परिमाणमा शेयर विक्री गर्नेको परिचय भने खुल्न सकेको छैन ।
Admin 2011-04-01