शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय ९० माथि नै बन्द
फागुन १७, काठमाडौं (अस)। साताको तेस्रो दिन मङ्गलवार दिनभर ३ सय ९० भन्दा तल रहेको नेप्से कारोबार बन्द हुने समयमा ३ सय ९१ माथि आएर बन्द भयो । तर, सोमवारको तुलनामा भने शून्य दशमलव ४४ अङ्कले घटयो । कारोबार शुरू भएदेखि नै लगातार घटेको नेप्से साढे १ बजेसम्म ३ सय ८८ सम्म पुगे पनि २ बजेपछि खरीदचाप बढेकाले उकालो लागेको देखिन्छ । कारोबार अन्त्य हुने समयमा केही कम्पनीको मूल्य चलखेल गरेर बढाइएको एक विश्लेषकको भनाइ छ ।    मङ्गलवार क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्सका ५१ हजार ८ सय १० कित्ता शेयर १९ नम्बर ब्रोकरबाट एकैपटकमा किनबेच भएपछि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढयो । नेप्से घटेपछि 'क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।

मङ्गलवार कारोबारमा आएका समूह, शेयर सङ्ख्या र रकम परिचालन बढे पनि कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कुल बजार पूँजीकरण भने घटे । कारोबारमा आएका ७ समूहमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरैले घटयो । होटल र बीमा समूहको परिसूचक केही बढे पनि यसले नेप्से बढाउन सकेन । बैङ्किङ, विकास बैङ्क र वित्त कम्पनी समूहको परिसूचक सामान्य घटे भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर रहयो । मङ्गलवार चिलिमे हाइड्रोपावरको 'बूक क्लोज'अघिको अन्तिम कारोबार भएकाले शेयरमूल्य रू. १३ ले घटेर कारोबार भएपछि जलविद्युत् समूहको परिसूचक १० अङ्कभन्दा बढीले घटयो । चिलिमेले कुनैकिसिमका लाभांश दिने घोषणा नगरेकाले यसको शेयरमूल्य घटेको अनुमान गरिएको छ । सोल्टी होटलको प्रतिशेयर मूल्य रू. ४ ले बढेपछि होटल समूहको परिसूचक पनि ४ अङ्कले बढयो । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक २ दशमलव १ अङ्कले बढयो ।

मङ्गलवार १ हजार २ सय ५१ कारोबारबाट ७७ कम्पनीका १ लाख १५ हजार ३ सय २० कित्ता शेयर खरीद-विक्री भई रू. ३ करोड ४० लाख ३५ हजारभन्दा बढीको  रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४३ अर्बभन्दा धेरैको कूलबजार पूँजीकरण भयो ।  मङ्गलवार ३७ कम्पनीको शेयरमूल्य घटयो, २९ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको मूल्य स्थिर रहयो । मङ्गलबार कारोबार सङ्ख्याका आधारमा गौरीशङ्कर डेभलपमेन्ट बैङ्क र शेयर सङ्ख्याका आधारमा क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्स अग्रस्थानमा रहे । गौरीशङ्करका १ सय ३९ कारोबार भए । कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी सबैभन्दा अघि रहयो । यसको रू. ८२ लाख २ हजार ५ सय ७० भन्दा बढी रकम परिचालन भयो । मङ्गलवार एनआईसी बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १५ ले बढयो भने  एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै  रू. ३० ले घटयो ।

Admin 2011-03-02