शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चिलिमेको नाममा चलखेल
जेठ १७, काठमाडौं (अस)। मङ्गलवार नेप्सेमा सूचिकृत अधिकांश समूहका परिसूचक घटेपछि नेप्से परिसूचक पनि झण्डै ६ अङ्कले घटयो । मङ्गलवारबाट नै तुलनात्मक रूपमा सबल मानिएको चिलिमे जलविद्युत् कम्पनीको साधारण शेयरको विक्री खुलेपछि धेरै लगानीकर्ताले सो कम्पनीको शेयर खरीद गर्न आफूसँग रहेका अन्य कम्पनीको शेयर विक्री गरेकाले बजार ओरालो लागेको भनाइहरू सार्वजनिक भएका छन् । त्यसैगरी, सोमवार राष्ट्र बैङ्कले प्रकाशित गरेको प्रतिवेदनले चालू आवको ९ महीनासम्ममा देशको समग्र आर्थिक अवस्था निराशाजनक रहेको देखाएपछि त्यसको असर शेयर बजारमा परेको अनुमान छ । तर, कतिपय लगानीकर्ताले भने चिलिमेको साधारण शेयर तथा राष्ट्र बैङ्कको तथ्याङ्कलाई नै कारण बनाएर बजारमा चलखेल गर्नेहरू सक्रिय भएकाले बजार घटेको बताए ।

जलविद्युत्, 'अन्य’, बैङ्किङ र उत्पादन तथा प्रशोधन समूहका परिसूचक उच्च अङ्कले घटे । यी समूहका परिसूचक क्रमशः १२ दशमलव शून्य ८, ८ दशमलव २२, ७ दशमलव ६६ र ५ दशमलव ७१ ले घटे । जलविद्युत् समूहका चिलिमे तथा अरुणभ्यालीको शेयरमूल्य घटेपछि यो समूहको परिसूचक घटयो । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य घट्दा 'अन्य’ समूहको परिसूचक घटयो भने स्ट्याण्डर्ड  चार्टर्ड, नेपाल एसबीआई, नबिललगायत बैङ्कको शेयर घट्दा बैङ्किङ र  युनिलिभरको शेयर घट्दा उत्पादन तथा प्रशोधन समूहका परिसूचक घटेका हुन् । फलस्वरूप, नेप्से ६ दशमलव शून्य ४ अङ्कले घटेर ३ सय ३६ दशमलव ७३ मा आइपुग्यो ।  नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक घटयो । त्यसैगरी, सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटेको छ ।

कारोबारमा आएका सात समूहमध्ये एक समूहको परिसूचक मात्र बढयो । नेशनल लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य बढेपछि बीमा समूहको परिसूचक सामान्य बढेको हो । त्यसैगरी, वित्त कम्पनी र विकास बैङ्क समूहको परिसूचक भने सामान्य घटे । मङ्गलवार नबिल बैङ्कका १ हजार १ सय १६ संस्थापक शेयर र एभरेष्ट बैङ्कका ५६ कित्ता परिवर्त्य अग्राधिकार शेयर पनि कारोबार भए ।

मङ्गलवार कारोबार भएका कम्पनी, शेयर सङ्ख्या र कारोबार सङ्ख्याका साथै रकम परिचालन पनि घटयो । यस दिन १ हजार ६ सय ९५ कारोबारबाट ८६ कम्पनीका ७८ हजार ५ सय ४५ कित्ता शेयर किनबेच भई रू. २ करोड २५ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसबाट रू. २ खर्ब ९९ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ४६ कम्पनीको शेयरमूल्य घटयो, २७ को मूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।

कारोबार सङ्ख्याका आधारमा तिनाउ विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा इन्फ्राष्टक्चर बैङ्क अग्रस्थानमा रहे । तिनाउको २ सय ९६ पटक कारोबार भयो भने इन्फ्राष्टक्चरका ७ हजार ८० कित्ता शेयर किनबेच भए । त्यसैगरी रू. २८ लाख ३९ हजार रकमको कारोबार भएको चिलिमे जलविद्युत् कम्पनी रकम परिचालनका आधारमा सबैभन्दा अघि रह्यो। यस दिन युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय १० ले घटयो भने लक्ष्मी बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू.३४ ले बढयो ।

Admin 2011-06-01