सातापछि खुलेको नेप्सेमा सामान्य सुधार
माघ १७, काठमाडौं (अस)। नेप्सेका कर्मचारीहरूको आन्दोलनले १ साता बन्द भएको शेयर बजार सोमवार सुचारू भए पनि सो दिन नेप्से परिसूचकमा खासै सुधार हुन सकेन । नियमित समयभन्दा झण्डै २ घण्टा ढिलो शुरू भएको नेप्सेको कारोबारमा आएका समूहमध्ये बैङ्किङ र बीमा कम्पनी समूहको परिसूचकमा भएको वृद्धिले नेप्सेमा सामान्य सुधार आएको हो । भने विकास बैङ्क, हाइड्रोपावर र वित्त कम्पनी समूहहरूका परिसूचक घटेका छन् । कारोबार शुरू भएको केही समयसम्म स्थिर रहेको नेप्सेमा २ बजेपछि सुधारको सङ्केत देखिएको थियो । तर, केही समयपछि नै नेप्से घटेर ४ सय १० दशमलव २१ अङ्कमा झरेको थियो । त्यसपछि पुनः बढ्न शुरू गरेको नेप्से अधिकतम ४ सय १० दशमलव ७५ अङ्कसम्म पुगेकोमा कारोबारको अन्तिम समयमा ४ सय १० दशमलव ५७ अङ्कमा सीमित भयो । नेप्सेमा सूचीकृत क वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव १७ अङ्कले बढयो भने सर्वसाधारणले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरको फ्लोट परिसूचक शून्य दशमलव शून्य ५ अङ्कले बढेको छ ।
सोमबार ५ समूहका कुल ४० कम्पनीहरूको मात्र शेयरको कारोबार भएको थियो । ३ सय ७० ओटा कारोबारमार्फ कुल ७२ हजार ५ सय २५ शेयरहरू किनबेच भएका थिए । यसबाट १ करोड ४६ लाखभन्दा केही बढी रकम परिचालन भएको थियो ।
कारोबारमा आएकामध्ये १६ कम्पनीहरूको शेयर मूल्य घटेको छ । यसैगरी १२ कम्पनीको शेयर मूल्य बढेको छ भने अन्य १२ को स्थिर रहेको छ । सोमवार कारोबार सङ्ख्याका आधारमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि रहयो । यसका १ सय १५ ओटा कारोबार भए । यसैगरी शेयर सङ्ख्या र रकमका आधारमा क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स सबैभन्दा अगाडि रहयो । अन्तिम मूल्य रू. १ सय ५३ रहेको यसका कुल ५५ हजार ६ सय १२ शेयरको खरीद-विक्रीबाट रू. ८५ लाख ८ हजार ६ सय ३६ मूल्यबराबरको कारोबार भयो । सोमवार नेपाल इन्भेष्टमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा बढी रू. १८ ले बढयो भने भृकुटी विकास बैङ्कको शेयर मूल्य सबैभन्दा बढी रू. ४३ ले घटयो ।