नेप्से लगभग स्थिर
साउन १७, काठमाडौं (अस)। मङ्गलवार नेप्से परिसूचक २ अङ्कको बीचमा लगभग स्थिर रह्यो । दिनभर ३ सय ५८ देखि ३ सय ५६ को बीचमा रहेको नेप्से शून्य दशमलव शून्य ६ अङ्कले घटेर ३ सय ५७ दशमलव ६२ मा बन्द भएको छ । कारोबारको अन्तिम समयमा एनसीसी, एभरेष्ट, नेपाल बङ्गलादेश, ज्योति विकासलगायत बैङ्कको मूल्य बढेपछि नेप्से केही बढेर बन्द भएको हो । नेप्से परिसूचक दुई साता पहिला पनि ३ सय ५५ को हाराहारीबाट बढ्न शुरू गरेर ३ सय ८० सम्म पुगेको थियो । अहिले पनि सो तहभन्दा तल जान नसकेकाले आगामी दिनमा नेप्से बढ्ने अनुमान गरिएको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक
पनि घटे ।
मङ्गलवार खरिद-विक्री भएका सात समूहमध्ये बीमा, जलविद्युत् र विकास बैङ्क समूहका परिसूचक मात्र बढे । यी समूहको परिसूचक क्रमश: ८ दशमलव ३१, ७ दशमलव ९७ र शून्य दशमलव ७५ अङ्कले बढे । त्यसैगरी, जलविद्युत् समूहअन्तर्गतको नेशनल र चिलिमे जलविद्युत् कम्पनीको शेयरमूल्य बढेपछि सो समूहको परिसूचक बढेको हो । नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, सगरमाथा इन्स्योरेसलगायत कम्पनीको शेयर बढ्दा बीमा समूहको परिसूचक बढेको हो । विकास बैङ्कअन्तर्गतका रेसुङ्गा विकास बैङ्क, त्रिवेणी विकास बैङ्क, मनकामना डेभलपमेण्ट बैङ्कलगायतका शेयरमूल्य बढयो ।
बैङ्किङ र वित्त कम्पनी समूहको परिसूचक भने घटे । बैङ्किङ समूहका नेपाल एसबीआई, माछापुच्छ्रे बैङ्क, हिमलयनलगायत बैङ्कको शेयरमूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ९५ अङ्कले घटयो । त्यसैगरी, सगरमाथा, रोयल मर्चेण्ट बैङकिङ एण्ड फाइनान्स, सूर्यदर्शन फाइनान्स लगायतको शेयरमूल्य घटेपछि वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव शून्य ६ ले घटयो । होटल र 'अन्य’ समूहको परिसूचक भने स्थिर रह्यो ।
मङ्गलवार कम्पनी, खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढे । १ हजार १ सय ३७ खरीद-विक्रीबाट ७९ कम्पनीका ९९ हजार ४ सय ९० शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ३० लाख रकम परिचालन भयो भने ३ खर्ब १८ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार ३३ कम्पनीको शेयरमूल्य बढयो, ३० कम्पनीको शेयरमूल्य घटयो, भने बाँकीको
स्थिर रह्यो ।
मङ्गलवार खरीद-विक्री सङ्ख्याको आधारमा भ्याली फाइनान्स र शेयर सङ्ख्याको आधारमा भिबोर विकास बैङ्क अग्रस्थानमा रहे । भ्याली फाइनान्सको १ सय ८४ खरीद-विक्री भयो भने भिबोर विकास बैङ्कका २१ हजार ८ सय कित्ता शेयर किनबेच भए । रकम परिचालनका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । यसका ११ हजार ६ सय ८७ कित्ता शेयर किनबेच भई रू. ६६ लाख २७ हजारको कारोबार भयो । साथै, सोही दिन हिमालयन बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २५ ले घटयो भने नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै रू. ३३ ले बढयो ।
Admin 2011-08-03