कारोबार रकम र बजार पूँजीकरण पनि कम
जेठ १८, काठमाडौं (अस)। बुधवार शेयर बजारमा औसतभन्दा कममात्र कारोबार भयो । कारोबार रकम मङ्गलवारको तुलनामा झण्डै आधाले घटयो भने, बजार पूँजीकरण पनि सार्विकभन्दा कम भयो । पछिल्लो समयमा औसत डेढ करोडको कारोबार र रू. ३ खर्बभन्दा बढीको कुल बजार पूँजीकरण हुने गरेको थियो । बुधवार जम्मा रू. ८६ लाखको कारोबार भयो भने २ खर्ब ९८ अर्बको कुल बजार पूँजीकरण भयो । बुधवार नेप्से परिसूचक १ दशमलव शून्य ३ अङ्कले घटेर ३ सय ३५ मा आयो । कारोबार शुरू हुँदा बैङ्किङ, विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचक बढेपछि बढेको नेप्से लामो समय टिक्न सकेन ।
कारोबारको मध्यमा 'अन्य’ समूहमा सूचीकृत नेपाल दूरसञ्चारको शेयरमूल्य रू. ६ ले बढेर कारोबार भएपछि नेप्से मङ्गलवार बन्द भएको बिन्दुभन्दा माथि उक्लने प्रयास गरे पनि सफल भएन । बुधवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
बुधवार कारोबारमा आएका ६ समूहमध्ये तीन समूहको परिसूचक घटेर तथा तीनको बढेर कारोबार भयो । घट्नेमा बैङिकङ, विकास बैङ्क र बीमा समूह रहेका छन् । यी समूहका परिसूचक क्रमशः २ दशमलव ८९, १ दशमलव ५१ र शून्य दशमलव ५१ ले घटे । त्यसैगरी, 'अन्य’, जलविद्युत् र वित्त कम्पनी समूहका परिसूचक क्रमशः ४ दशमलव ७, १ दशमलव ८८ र शून्य दशमलव ४५ प्रतिशतले बढे । यस दिन बैङ्किङ समूहका एभरेष्ट, नबिल, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कका साथै विकास बैङ्क समूहका विश्व विकास, सीटी डेभलपमेण्ट बैङ्क र बीमा समूहका प्राइम लाइफ इन्स्योरेन्सलगायत कम्पनीको शेयरमूल्य घटे । त्यसैगरी, नेपाल दूरसञ्चार, अरुणभ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावर, नागरिक लगानी कोषलगायतको शेयरमूल्य बढयो ।
बुधवार कम्पनी सङ्ख्या, शेयर सङ्ख्या र कारोबार सङ्ख्यामा पनि ह्रास आयो । कुल ९ सय ६६ कारोबारबाट ७९ कम्पनीका ३५ हजार १ सय २६ कित्ता शेयर किनबेच भए । कारोबारमा आएकामध्ये ४० कम्पनीको शेयरमूल्य घटयो, २७ को शेयरमूल्य बढयो भने बाँकीको स्थिर र≈यो । बुधवार कारोबार सङ्ख्याका आधारमा अल्पाइन डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याका आधारमा प्राइम कमर्शियल बैङ्क अग्रस्थानमा रहे । अल्पाइनको ९१ पटक कारोबार भयो भने प्राइमका ४ हजार ८ सय ६० कित्ता शेयर किनबेच भए । त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीको सबैभन्दा धेरै रू. १२ लाख ४५ हजारको कारोबार भयो । यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४९ ले घटयो भने लक्ष्मी बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३६ ले बढयो ।